लण्डन वैशाख २८ गते । स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठूलो धक्कापछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला उहाँले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपसँग नजिक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घट्दो लोकप्रियता, आन्तरिक असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नबीच स्टार्मरले आफ्नो सरकार देशमा ‘आशा पुनःस्थापना’ गर्ने दिशामा केन्द्रित रहने बताउनुभयो ।
लन्डनमा सोमबार आयोजित एक भाषणमा स्टार्मरले आफ्नै पार्टीभित्र र मतदातामाझ आफूलाई लिएर शङ्का गर्नेहरू रहेको स्वीकार गर्दै ती सबैलाई गलत सावित गर्ने दाबी गर्नुभयो । उहाँले देश लामो समयदेखि यथास्थितिबाट थाकिसकेको उल्लेख गर्दै सरकार जनताको पक्षमा उभिएको अनुभूति दिलाउन चाहेको बताउनुभयो ।
स्टार्मरले बेलायत अहिले ‘राष्ट्रको आत्माका लागि लडाइँ’ को अवस्थामा रहेको धारणा राख्दै आप्रवासनविरोधी दल रिफर्म युके सत्तामा पुगे देश ‘अँध्यारो दिशातर्फ’ जान सक्ने चेतावनी दिनुभयो । नाइजेल फराज नेतृत्वको उक्त दलले हालैका स्थानीय चुनावमा उल्लेखनीय सफलता पाएपछि बेलायती राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिन थालेको छ ।
प्रधानमन्त्रीमाथिको दबाब यतिमै सीमित छैन । पार्टीभित्रका दर्जनौँ सांसदहरूले उहाँलाई पदत्यागको समयसीमा सार्वजनिक गर्न आग्रह गरिरहेका छन् । पूर्वउपप्रधानमन्त्री एन्जेला रेनरले सरकारले अपनाइरहेको कार्यशैली प्रभावकारी हुन नसकेको स्पष्ट टिप्पणी गर्दै परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले स्टार्मरलाई प्रत्यक्ष रूपमा पद छोड्न नभने पनि सरकार ‘क्रोनिज्मको विषाक्त संस्कृतितर्फ’ गएको आरोप लगाउनुभयो । साथै लेबरले आफ्नो श्रमजीवी वर्ग र सामाजिक लोकतान्त्रिक मूल्यमान्यतामा फर्किनुपर्ने र सर्वसाधारणको जीवनयापनको खर्च घटाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
रेनरले आइतबार सार्वजनिक गरेको वक्तव्यमा अहिलेको अवस्था लेबरका लागि ‘अन्तिम अवसर’ हुन सक्ने चेतावनीसमेत दिनुभएको थियो ।
गत साता इङ्ग्ल्यान्डका स्थानीय तह चुनाव तथा स्कटल्यान्ड र वेल्सका विधायिकी निर्वाचनमा लेबरले ठूलो क्षति बेहोरेपछि पार्टीभित्र निराशा बढेको हो । ती चुनावलाई स्टार्मर नेतृत्वमाथिको अनौपचारिक जनमतसङ्ग्रहका रूपमा पनि हेरिएको छ । दुई वर्षअघि भारी बहुमतसहित सत्तामा आएको लेबर अहिले आर्थिक चुनौती, महँगी, बिग्रँदो सार्वजनिक सेवा र विवादास्पद नीतिगत निर्णयका कारण दबाबमा परेको छ ।
स्टार्मर सरकारले आर्थिक वृद्धिको प्रतिबद्धता पूरा गर्न सङ्घर्ष गरिरहेको आलोचना भइरहेको छ । सार्वजनिक सेवा सुधार, जीवनयापनको खर्च नियन्त्रण तथा कल्याणकारी सुधारसम्बन्धी नीतिमा पटक–पटक यू–टर्न लिनुपरेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । त्यसमाथि जेफ्री एपस्टिन प्रकरणसँग जोडिएका पिटर म्यान्डल्सनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले पनि सरकार थप विवादमा तानिएको छ ।
हालैको चुनावी नतिजाले लेबर दायाँ र बायाँ दुवै दिशाबाट दबाबमा परेको देखाएको छ । रिफर्म युकेसँगै ‘इको–पपुलिस्ट’ भनिने ग्रीन पार्टीले पनि लेबरको मत आधार कमजोर बनाएको छ । यसले लामो समयदेखि लेबर र कन्जर्भेटिभ पार्टीले प्रभुत्व जमाउँदै आएको बेलायती राजनीतिमा बढ्दो विखण्डनलाई उजागर गरेको विश्लेषण गरिएको छ ।
यही पृष्ठभूमिमा स्टार्मरले सोमबारको भाषण र बुधबार राजा चार्ल्स तृतीयले संसद्मा प्रस्तुत गर्ने सरकारको नीति तथा विधायी कार्यक्रममार्फत राजनीतिक गति फर्काउने प्रयास गरिरहनुभएको छ । उहाँले ऊर्जा, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामाथि बेलायतले पुनः नियन्त्रण स्थापित गर्ने तथा देशलाई अझ निष्पक्ष बनाउने लक्ष्य अघि सार्नुभएको छ ।
स्टार्मरको प्राथमिकतामध्ये एक युरोपेली सङ्घ ९इयु० सँगको सम्बन्धलाई पुनः नजिक बनाउनु पनि हो । सन् २०२० मा बेलायतले औपचारिक रूपमा इयु छोडेपछि व्यापारिक अवरोध र आर्थिक जटिलता बढेको भन्दै उहाँको सरकारले केही प्रतिबन्ध खुकुलो पार्ने प्रक्रिया अघि बढाइसकेको छ । युवाहरूलाई युरोपमा केही वर्ष काम गर्न सक्ने व्यवस्था मिलाउन युवा गतिशीलता सम्झौता गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो सरकार ‘युरोपसँगको सम्बन्ध पुनर्निर्माण गर्ने सरकार’ का रूपमा चिनिने दाबी गर्नुभयो । यद्यपि स्टार्मरले बेलायतलाई फेरि इयुमा फर्काउने वा भन्सार सङ्घ तथा एकल बजारमा पुनः सामेल गराउने सम्भावनालाई भने अस्वीकार गर्नुभएको छ ।
सन् २०१६ को ब्रेक्सिट जनमतसङ्ग्रहका बेला लेबरले इयुमै रहने पक्षमा अभियान चलाएको थियो । तर त्यसले देशलाई गहिरो रूपमा विभाजित पारेपछि अहिले पार्टी पुरानो बहस पुनः चर्काउन इच्छुक देखिएको छैन ।
यद्यपि पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा क्रमशः बढिरहेको छ । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ, ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम तथा एन्जेला रेनरजस्ता प्रभावशाली नेताहरूलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिए पनि अहिलेसम्म कसैले खुला चुनौती दिएका छैनन् ।
पूर्व लेबर सांसद जोश साइमन्सले टाइम्स अफ लन्डनमा लेख्दै स्टार्मरले ‘देशको विश्वास गुमाइसकेको’ टिप्पणी गर्नुभएको छ । उहाँले व्यवस्थित रूपमा नयाँ नेतृत्वतर्फ सङ्क्रमण गराउने जिम्मेवारी लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
पूर्व कनिष्ठ मन्त्री क्याथरिन वेस्टले पनि यदि स्टार्मरले सोमबारको भाषणमार्फत स्पष्ट राजनीतिक दिशा दिन नसके नेतृत्व प्रतिस्पर्धा सुरु गर्ने प्रयास गर्ने चेतावनी दिनुभयो । यद्यपि उहाँसँग आवश्यक समर्थन सङ्ख्या नरहेको स्वीकार गरिएको छ । विश्लेषकहरूले भने वेस्टको कदमलाई अन्य प्रभावशाली नेताहरूलाई अगाडि आउन दबाब दिने रणनीतिका रूपमा व्याख्या गरेका छन् ।
वेस्टले सर्वसाधारणले चुनावमार्फत स्पष्ट सन्देश दिएको उल्लेख गर्दै लेबरले त्यो सन्देश सुन्नु पर्ने र शीघ्र परिवर्तन आवश्यक रहेको बताउनुभयो ।





