काठमाडौँ, वैशाख २५ गते । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले आगामी मनसुन, २०२६ को पूर्वानुमान तथा त्यसका सम्भावित प्रभावबारे गहन अध्ययन र छलफल भइरहेको बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित मनसुन फोरममा महानिर्देशक श्रेष्ठले विगतको मनसुन समीक्षा गर्दै आगामी मौसममा हुनसक्ने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्कहरूले नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो ।

उहाँले विभागले हाल उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन–अनुसन्धान तथा अन्तरराष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभयो । विभागले वर्षका चारै यामका लागि ‘ऋतुगत पूर्वानुमान’ गर्ने लक्ष्य लिएको उल्लेख गर्दै हाल तीनवटा यामको पूर्वानुमान सुरु भइसकेको र अब प्रि–मनसुनको पूर्वानुमान पनि सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्कटिक ओस्सिलेसनजस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीहरूले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको छ । “वैज्ञानिक अनुसन्धानलाई मजबुत बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले विभागले हाल क्षेत्रीय स्तरमा मात्र नभई ‘सब–रिजनल’ अर्थात् स्थानीय तहसम्म पुग्ने मौसमी पूर्वानुमान प्रणाली विकास गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो । यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको उहाँको भनाइ थियो ।

महानिर्देशक श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने तथा चरम मौसमीय घटनाहरू वृद्धि भइरहेकाले तथ्यमा आधारित योजना निर्माण आवश्यक भएको बताउनुभयो । विभागले ग्लेसियर मोनिटरिङ तथा जलवायु अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिँदै यस कार्यमा मन्त्रालयको सहयोग रहेको उल्लेख गर्नुभयो ।