काठमाडौँ, वैशाख २३ गते । खानेपानी मन्त्रालय मातहतको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रलाई अस्थायी ‘होल्डिङ सेन्टर’ का रूपमा प्रयोग गरिने भएको छ । काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न करिब १०० जना अट्ने क्षमतासहित उक्त केन्द्रलाई आजदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको हो ।

सहरी विकास मन्त्रालयको अनुरोधअनुसार खानेपानी मन्त्रालयले केन्द्र खाली गराउन निर्देशन दिएको र सोही निर्देशनअनुसार आजदेखि तालिम केन्द्र खाली गरिएको केन्द्रका कार्यकारी निर्देशक एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विस्थापितमध्ये करिब १०० जनालाई अस्थायी रूपमा राख्नुपर्ने माग आएपछि तालिम केन्द्रका कार्यक्रम स्थगित गरी स्थान खाली गरिएको हो । विस्थापित भएकालाई आजदेखि यहाँ राखिने भनिएको छ ।”