काठमाडौँ, वैशाख २३ गते । विशेष अदालतले काठमाडौँले सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो ।

अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो । यो म्याद २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको छ ।

यो परिप्रेक्ष्यलाई दृष्टिगत गरी यस अदालतमा उपस्थित गराइएका अभियुक्तहरु दीपक भट्ट १ को हकमा पाँचौँ र सुलभ अग्रवालको हकमा छैठौँ पटक म्याद थप हुने गरी मुद्दाको अनुसन्धान तहकिकात गर्न उक्त ऐनको दफा १७ (४) बमोमजिम २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरिएको आदेशमा भनिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४’ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार मुद्दा हेर्ने क्षेत्राधिकार र प्रक्रियामा केही परिवर्तन आएकाले सोही बमोजिम संयुक्त अनुसन्धान टोलीले छानबिन अगाडि बढाएको जनाइएको छ ।