काठमाडौँ, वैशाख २३ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता भएको छ । सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच आज बुधबार खड्काको गल्फुटारस्थित निवासमा भेटवार्ता भएको हो ।


भेटवार्ताका क्रममा उपसभापति विश्वप्रकाश शर्माको पनि सहभागिता रहेको थियो । उहाँहरूबीच आज बुधबार बिहान खड्का निवास गल्फुटारमा भएको भेटमा काङ्ग्रेस एकतालगायतका विषयमा छलफल भएको बताइएको छ ।


आज बिहान ११ बजे उपसभापति शर्माका साथ खड्का निवास पुग्नुभएका सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच साढे १ घण्टा कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेका थिए। यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन्।

यसअघि हिजो मङ्गलबार सभापति थापाले नेता डा. शेखर कोइरालासँग विशालनगरस्थित उहाँको सम्पर्क कार्यालयमा पुगेर पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल गर्नुभएको थियो ।