काठमाडौँ, वैशाख २३ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सङ्घीय संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने हुनुभएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार आज बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको प्रशिक्षण दिने हुनुभएको हो ।
दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुम्वासी बस्तीमा चलाइएको डोजर ‘स्ट्यान्ड’बारे पनि छलफल हुने बताइएको छ । साथै सरकारले संसद अधिवेशन आह्वान गरिसकेकाले सङ्घीय संसदमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुम्वासीको विषयमा कसरी आधार तय गर्ने भन्नेबारे पनि छलफल गरिने जनाइएको छ ।





