काठमाडौँ, वैशाख २३ गते । सरकारले राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज बुधबारको निर्णय अनुसार ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका गरी १२ वटा ट्रेड युनियन सङ्गठनहरू खारेज गरेको हो ।

सरकारले हालै जारी गरेको नयाँ अध्यादेशको जगमा टेकेर विभागले आज बुधबार यस्तो निर्णय लिएको हो । सो खारेजी निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशिल रहेका सम्पूर्ण राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको हकमा लागू भएको छ ।
सरकारले जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ २०८३ को व्यवस्थालाई मुख्य कानुनी आधार बनाएर यी युनियनहरूको दर्ता खारेज गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन,स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन, रहेका छन् ।

यसैगरी खारेज हुनेमा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी सङ्गठन रहेका छन् । यस निर्णयसँगै निजामती सेवा ऐनको दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भई लामो समयदेखि कर्मचारी राजनीतिमा सक्रिय रहेका प्रमुख युनियनहरूको अस्तित्व समाप्त भएको छ ।

CamScanner-06-05-2026-16