झापा, वैशाख २३ गते । शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा चालकसहित पाँच जना सवार थिए । घाइते हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय सहचालक प्रकाश सिल्वाल, शिवसताक्षी नगरपालिका–८ का १८ वर्षीय इसान पक्वाल, सोही स्थानका १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेट्वाल रहेका छन् ।

उनीहरूको विर्तासिटी अस्पताल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।