विराटनगर, कात्तिक ९ गते । प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरापलिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सालाई जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा चालक हरिनगर गाँउपालिका–७ का १८ वर्षीय अब्दुल खान, सवार १८ वर्षीय मोतिम आलम र को ३६ प ६२४३ नं को मोटरसाइकल चालक हरिनगरा गाउँपालिका–७ का १८ वर्षीय सोजिप खानलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाबाट ट्रामाडोल–छ हजार ९८० क्यापसुल, स्पास्मो–सात हजार क्यापसुल र हाइड्रोब्रोमाइन–दुई बोतल प्रतिबन्धित औषधि बरामत गरिएको छ । प्रहरीले बराह क्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी–९ का ३२ वर्षीय मुकेश भुजेललाई तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगर, प्रहरी चौकी भरोलले बराह क्षेत्र–५ का ४० वर्षीय रामकुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलटार उदयपुरले त्रियुगा नगरपालिका–१० का २६ वर्षीय मनोज मग्राङ्तीलाई स्पास्मो–२८८ क्यापसुल र निट्राजेपाम–३०० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २५ वर्षीय बविस भण्डारीलाई तीन ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइ रहेको थापाले जानकारी दिनुभयो । रासस




