काठमाडौँ, वैशाख २१ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ । सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो ।
गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्याङ्क सङ्कलन गरेका छन् । तथ्याङ्क प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ ।
मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा कृषि क्षेत्रको विकासका लागि आवश्यक राष्ट्रिय नीति नियम बनाउन तथा त्यसलाई कार्यान्वयनमा लैजान सहयोग पुग्ने जानकारी दिनुभयो ।
पहिलो चरणमा स्थानीय तहका कृषि प्राविधिक किसानको घरदैलोमा पुगेर कृषिमा कृषकको पहुँच, मलबिउको प्रयोग, मूल्य भण्डारणको संरचना, सिँचाइको प्रयोग, प्रविधिको प्रयोग, वित्तीय पहुँच, कृषि सेवा पहुँच, बिमा, कृषि पशुको उत्पादनको अवस्थालगायतका विषयमा प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।
दोस्रो चरणमा प्राप्त तथ्याङ्कलाई विश्लेषण गरी कृषिको आधिकारिक तथ्याङ्क परिणाम निकालिने छ । महत्वाकांक्षी परियोजनाका रूपमा सञ्चालन गरिएको यो कार्यक्रममा मन्त्रालयले सुपरिवेक्षकलाई तालिम दिने र सुपरिवेक्षकले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ ।
दोस्रो चरणको काम सुरु गर्न पहिलो चरणको काम अनिवार्य सम्पन्न गर्नुपर्ने वरिष्ठ अधिकृत रेग्मीले जानकारी दिनुभयो ।





