धनुषा, वैशाख १५ गते । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रभावकारी सञ्चार प्रणाली र दक्ष जनशक्ति निर्माण बिना लोकतान्त्रिक शासन प्रणाली सुदृढ हुन नसक्ने बताउनुभएको छ । बर्दिबासमा आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा आज आयोजित प्रशिक्षक प्रशिक्षण (टिओटी) कार्यक्रममा मन्त्री महतोले सूचना प्रवाहलाई व्यवस्थित, विश्वसनीय र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि गरी गलत सूचना नियन्त्रण, सुशासन प्रवर्द्धन र नागरिक सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री महतोले प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धिका लागि आवश्यक नीति, कार्यक्रम र सहयोग निरन्तर अघिबढाइने जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति९रासस०का पूर्वअध्यक्ष धर्मेन्द्र झाले सञ्चार क्षेत्रको विश्वसनीयता कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण अनिवार्य रहेको बताउनुभयो । उहाँले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारिता थप जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन प्राधिकरण सक्रिय रूपमा लागेको जानकारी दिनुभयो । उहाँले प्रशिक्षक उत्पादनमार्फत दीर्घकालीन रूपमा सञ्चार क्षेत्रको गुणस्तर सुधार गर्ने लक्ष्य लिइएको स्पष्ट पार्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने सो तालिममा विभिन्न जिल्लाबाट सहभागी सञ्चारकर्मी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सञ्चार नीति, सूचना व्यवस्थापन, तथ्य जाँच (फ्याक्ट–चेक), डिजिटल मिडिया प्रयोग तथा प्रशिक्षकका रूपमा दक्षता विकाससम्बन्धी विषयमा प्रशिक्षण हुनेछ ।





