पोर्चुगलकी विदेश राज्यमन्त्री डा.आना इसाबेल जाभियर ।
काठमाडौँ, वैशाख १५ गते । पोर्चुगलकी विदेश राज्यमन्त्री डा.आना इसाबेल जाभियर भोलि नेपाल आउँदै हुनुहुन्छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. जाभियर तीन दिने औपचारिक भ्रमणका लागि भोलि बुधबार नेपाल आउन लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेश राज्यमन्त्री डा. जाभियरले नेपालको तीन दिने भ्रमणका क्रममा नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ । साथै सो क्रममा पोर्चुगलमा रहेका नेपाली समुदायको हित र श्रम सहयोगका विषयमा पनि कुराकानी हुन सक्ने बताइएको छ ।
मन्त्रालयका अनुसार डा. जाभियरले पर्सी वैशाख १७ गत परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नुहुने छ भने सोही दिन परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यी भेटघाटहरूमा दुई देशबीचको विद्यमान सम्बन्धको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल हुने छ ।
नेपालको तीन दिने भ्रमणमा आउन लाग्नुभएकी पोर्चुगलकी विदेश राज्यमन्त्री डा. जाभियरको यस भ्रमणले नेपाल र पोर्चुगलबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।





