काठमाडौँ, वैशाख १५ गते । नेपाली काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहका नेतालाई पार्टी सभापति गगन थापासँग भएको भेटको कुराकानीबारे ब्रिफिङ गर्नुभएको छ । आज मङ्गलबार धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित आफू पक्षीय नेताहरुको बैठकमा समसामयिक विषयमा ब्रिफिङ गर्दै नेता खड्काले काङ्ग्रेसको हारको कारण नै विशेष महाधिवेशन भएको टिप्पणी गर्नुभएको हो ।
बैठकमा नेता खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजानेभन्नेबारे सभापति थापाले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे पनि नेताहरूलाई जानकारी गराउनुभयो । बैठकमा खड्काले भन्नुभयो, पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको जानकारी गराउँदै ‘पार्टी विभाजन वा एकताको भविष्य नेतृत्वको हातमा छ । हामी पार्टीलाई एकताबद्ध गराउन तयार छौँ । नेतृत्वले चाहन प¥यो ।’
खड्काले पार्टी एकतालाई देशको राष्ट्रियतासँग जोड्दै वर्तमान समयमा राष्ट्रियता इतिहासमै सबैभन्दा बढी खतरामा रहेको दाबी गर्नुभयो । नेता खड्काले आफूले सभापतिसँगको भेटमा बलियो र एकीकृत काङ्ग्रेसले मात्र वर्तमान सरकार र अन्य दलहरूसँग उच्च नैतिक मनोबलका साथ वार्ता गरी संविधानको रक्षा र राष्ट्रिय एकता कायम गर्न सक्ने धारणा राखेको बताउनुभयो ।
खड्काले आफ्नो तर्फबाट एकताका लागि कुनै पूर्वशर्त नराखेको र पहिला अर्को पक्षको स्पष्ट धारणा आओस् भन्ने चाहेको पनि बैठकमा जानकारी गराउनुभयो ।





