काठमाडौँ, वैशाख १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । जेनजी आन्दोलनका क्रममा जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन लिने गरेको कुरा आएपछि स्वास्थ्य मन्त्री मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।

‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्ने जिम्मेवारी दिनुभएको हो ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।