काठमाडौँ, वैशाख १५ गते । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
राष्ट्रपति कार्यालयले जनाए अनुसार मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आजै राष्ट्रपति कार्यालय शितलनिवास पु¥याइएको र सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहनुभएको जनाइएको छ ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वानसमेत गर्नुभएको थियो । तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सरकारको सिफारिसअनुसार राष्ट्रपतिले संसद् अधिवेशन स्थगित गर्नुभएको थियो ।
सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद्मा नियुक्तिका लागि अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको बुझिएको छ ।





