काठमाडौँ, वैशाख १५ गते । पूर्वाधार विकास समितिले अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । आज मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई तत्काल व्यवस्थित गर्न सरकारलाई निर्देशन दिनभएको हो ।

बैठकमा समितिका सभापति गजुरेलले आगामी दिनमा सुरु हुने परियोजनामा पनि विगतका कमजोरी दोहोरिन नदिन नीतिगत सुधार गर्नुपर्ने भन्दै नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता र त्रुटिहरूको गहन अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने बताउनुभयो ।

समितिका सभापति गजुरेलले विकास निर्माणका सन्दर्भमा सरकार समितिप्रति जवाफदेही हुनुपर्ने र मन्त्री तथा सचिवहरूले संसदीय समितिमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

समितिका सभापति गजुरेलले भन्नुभयो, ‘पूर्वाधारहरू जुन अलपत्र परेका छन्, तिनीहरूको पनि व्यवस्थापन हुनुप¥यो, समयमा नै काम सम्पन्न हुनुपर्छ । आगामी दिनमा आउने परियोजनामा विगतका गल्तीहरू दोहोरिन दिनु हुँदैन । त्यसका लागि हामीले नीति नियम र प्रक्रियामा के के अस्पष्टता छन् ? के के त्रुटिहरू छन् ?, ती कुराहरूमा हामीले गहन ढङ्गले छलफल गरेर सरकारलाई सुझाव, निर्देशन दिने, समन्वय गर्ने गर्नुपर्छ ।’

उहाँले संसदीय समितिभन्दा सरकार माथि नहुने बताउँदै समितिले कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्नेे प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।