काठमाडौँ, वैशाख १५ गते । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । आज मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
गोल्छाकी पत्नी सीमा गोल्छाले पति गोल्छालाई गैरकानुनी तरिकाले थुनामा राखेको भनी रिहाइका लागि आदेश माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्नु भनि आदेश दिइएको छ ।
गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गत बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।





