काठमाडौँ, वैशाख १५ गते । नेपाली काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूको बैठक सुरु भएको छ । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा केही बेर अघिबाट सुरु भएको हो ।

सो बैठकमा खड्का समूहका शीर्ष नेताहरु, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुको सहभागिता रहेको छ ।


वैशाख ४ गते गगनकुमार थापा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतबाट वैधता पाएपछि यसअघि वैशाख ६ गते पनि खड्का पक्ष आन्तरिक रणनीति बनाउन भन्दै यही होटलमा बैठक बसेको थियो । उक्त बैठकमा सर्वोच्च अदालतको निर्णय मान्ने निष्कर्षमा पुग्दै खड्का समूह पर्ख र हेरको रणनीति अपनाउनेमा पुगेको थियो।

खड्का पक्षका नेताहरूको आजको बैठकमा काङ्ग्रेसको आन्तरिक विवाद, समसामयिक राजनीति र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।