काठमाडौँ, वैशाख १० गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (राई) साम्पाङले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ । पार्टी अध्यक्ष साम्पाङले आज बिहीबार ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई आफ्नो पार्टीको तर्फबाट ९ बुँदे लिखित सुझाव दिनुभएको हो ।

अध्यक्ष साम्पाङले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) ले सरकार गठन गर्दा आफ्ना पायकका दक्ष व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठन गर्ने र, यसरी मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिङ्गको प्रतिनिधित्व हुने गरी पूर्ण समावेशीताको आधारमा गर्नुंपर्ने सुझाव दिनुभएको छ ।
..
यसैगरी, व्यवस्थापिकाको भूमिकाका सम्बन्धमा साम्पाङले संसद्को काम कानुन निर्माण गर्ने र सरकारको कामकारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्नेमा मात्र सीमित हुनुपर्ने उल्लेख गर्दै कार्यकारी प्रमुखको सीमा निर्धारण गर्ने, निरङ्कुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरङ्कुश बनेमा संसद्ले महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

यसैगरी, अध्यक्ष साम्पाङलसबै जातजातिका नागरिकहरुलाई राज्यका सबै अङ्गहरु राजनीतिक पद तथा सेना, प्रहरीलगायत सबै कर्मचारी संयन्त्रमा समान सहभागिता सुनिश्चित गरिनुपर्ने व्यवस्था मिलाउन पनि सुझाव दिनुभएको छ ।