ललितपुर, वैशाख १० गते । हालै सिर्जित इन्धन समस्यालाई कम गर्न सरकारले इन्धनबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र काठमाडौँ विश्वविद्यालयद्वारा यहाँ आज आयोजित ‘नेपालमा इभी रूपान्तरणका सम्भावना, अवसर र चुनौतीहरू’ विषयक कार्यशालामा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

सो अवसरमा सवारीसाधानको आयातदेखि प्राविधिक विशेषताहरू र आर्थिक सम्भाव्यतासम्म इभी रूपान्तरणको पूर्ण स्पेक्ट्रम समेट्ने बारेमा पनि विज्ञहरुले धारणा राख्नुभएको थियो । विद्युतीय सवारीसाधन रूपान्तरणसम्बन्धी अनुसन्धानको वर्तमान अवस्था र आन्तरिक दहन इन्जिन (आइसिई) बाट फराकिलो रूपान्तरणका लागि देशमा हुनपर्ने तयारीबारे पनि छलफल भएको थियो । 

कार्यक्रममा नाष्टका सचिव रवीन्द्र ढकालले इभी रुपान्तरणका लागि आर्थिक, वातावरणीय पक्षहरुलाई ध्यानमा राखी नीति नियम र ठोस मापदण्ड बनाउनुपर्ने आवशयकता औँल्याउनुभयो । नाष्टका प्राविधिक सङ्कायका प्रमुख रोशन पाण्डेले सरकारको नीतिको कार्यान्वयनका लागि इभी रूपान्तरण, यसको वर्तमान स्वरूपमा, औसत नेपाली उपभोक्ता वा सञ्चालकका लागि आर्थिक रूपमा विकल्प बन्नसक्नुपर्नेमा धारणा राख्नुभयो । 

सो अवसरमा नेपालमा इभी आयातको वृद्धि र यस क्षेत्रलाई आकार दिने प्रमुख नीतिगत मार्गचित्रहरूको रूपरेखाका बारेमा विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो । रेट्रोफिटिङका प्राविधिक पक्षहरू अर्थात् आइसिइ सवारीसाधनलाई विद्युतीय पावर ट्रेनमा रूपान्तरण गर्ने प्रक्रिया घटक चयन, प्रणाली आकार निर्धारण र तुलनात्मक लागत विश्लेषण गरियो । कार्यक्रममा नीति निर्माता, अटोमोटिभ इञ्जिनियर, अनुसन्धानकर्ता तथा उद्योगका सरोकारवालाको सहभागिता रहेको थियो ।