काठमाडौँ, वैशाख १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को अधिवेशन स्थगित गर्नुभएको छ । यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा स्थगित गरिएको हो ।
यस अघि मन्त्रिपरिषद्कै सिफारिसमा हिजो वैशाख ९ राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको थियो । वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न सरकारले आज बिहीबार राष्ट्रपति कार्यालयमा पत्र पठाएको र सोही पत्रका आधारमा राष्ट्रपतिले अधिवेशन स्थगित गर्नुभएको हो ।
सरकारले राष्ट्रपति समक्ष स्थगित गर्न पठाएको पत्रमा सङ्घीय संसद्को अधिवेशन कहिले आह्वान गर्ने भन्ने उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार सरकारले आउँदो जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सरकारले राष्ट्रपति पौडेललाई अधिवेशन स्थगित गर्नका लागि पठाएको पत्रमा अधिवेशन विशेष कारणबारे कुनै कुरा उल्लेख गरिएको छैन । पत्रमा विशेष कारणले अधिवेशन स्थगित गर्नुपरेको उल्लेख भएको राष्ट्रपतिले जनाएको छ ।








