काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीबार दिउँसो ३ बजे बस्ने तय भएको हो ।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।

यसअघि गत चैत २५ गते कार्यदलको पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा संविधान संशोधनका विषयमा सामान्य छलफल भएको थियो । संविधानलाई थप परिष्कृत र समयसापेक्ष बनाउनका लागि राजनीतिक दलहरूको सुझावलाई समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट डा. भीष्म अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ज्ञानेन्द्र शाही, राष्ट्रिय जनमोर्चाका तर्फबाट मनोज भट्ट, श्रम संस्कृति पार्टीका तर्फबाट ध्रुवराज राई, जनता समाजवादी पार्टी नेपालबाट सुरेन्द्रकुमार झा, लोसपाबाट आभास लाभ कार्यदलका सदस्य हुनुहुन्छ ।

नेपाली काङ्ग्रेसले भने कार्यदलमा प्रतिनिधि पठाएको छैन । काङ्ग्रेसले सो कार्यदलमा प्रतिनिधित्व गर्नका लागि सर्त राखेको र उक्त सर्तबारेमा सरकारले जवाफ नदिएकोले काङ्ग्रेस ‘संविधान संशोधन कार्यदल’मा सहभागी छैन ।