बागमती, वैशाख ६ गते । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ। बागमती प्रदेशसभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएको हो ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आज बस्ने बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ प्रस्तुत भई समान्य छलफलसमेत भएको थियो ।

सोही विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने सचिव पौडेलले बताउनुभयो ।