काठमाडौँ, वैशाख ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालयको बैठक आह्वान गर्नुभएको छ । पार्टी सभापति लामिछानेले आज आइतबार दिउँसो ३:३० बजे बस्ने गरी वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक आह्वान गर्नुभएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा पार्टीको साङ्गठनिक विस्तार र महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ६ वटा मुख्य एजेण्डामा छलफल हुने भएको छ ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय हुने बताइएको छ । साथै पार्टीको आर्थिक पारदर्शिता र र व्यवस्थापन सुनिश्चित गर्न बैंक खाता सञ्चालनबारे पनि छलफल हुने बताइएको छ ।
पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभिन्न विभागहरुमा मनोनयनसम्बन्धी विषयमा पनि छलफल हुनेछ । रास्वपाले यसपटक ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ पहलसमेत बैठकको एजेन्डामा समेटिएको जनाएको छ ।
यस्तै, आज बस्ने सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्यहरूको सङ्गठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी व्यवस्थापनका बारेमा पनि विस्तृत छलफल हुने जनाइएको छ ।







