नर्थक्यारोलिना, वैशाख ६ गते । अमेरिकाको नर्थक्योलिनामा बसोबास गर्दै आएका नेपालीहरुले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्याक्रमको आयोजना गरेका छन् । नेपाल सेन्टर अफ नर्थक्योलिना(एनसीएनसी) ले नयाँ वर्षको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना गरेको हो ।

विगत दश वर्षदेखि मनाउन थालिएको नेपाली नयाँ वर्षलाई स्थानीय सरकारले ‘नेपाल डे’ भनेर घोषणा गरेको छ । स्थानीय अमेरिकी सरकारको तथ्याङ्क अनुसार नर्थक्योलिनामा करिव ९ हजार नेपालीहरु रहेका छन् । नेपाली नयाँ वर्ष मनाउन यहाँ रहेको नेपालीहरुको वर्षेनी बाक्लो उपस्थित हुने गरेको नेपाल सेन्टर अफ नर्थक्योलिनाका अध्यक्ष ददिन पाण्डेले बताउनुभयो ।

एनसीएनसीका अध्यक्ष पाण्डेका अनुसार नेपाली नयाँ वर्षको कार्यक्रममा नर्थक्योलिनाका सांसद् र मेयरको समेत उपस्थित रहेको थियो । एनसीएनसीले नेपाली समुदायको धर्म, संस्कृति, भेष भुषाको पहिचान र संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।

नयाँ वर्षको कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । विशेष गरी भरखरका बालबालिका र युवा पुस्ताहरु नेपाली भेषभुषा र संस्कृतिमा रमाएको देखिन्थ्यो । एनसीएनसीका अध्यक्ष पाण्डेले यही जन्मे हुर्केका केटाकेटीहरुमा नेपाली भेषभुषा, धर्म संस्कृतिको पहिचान गराउन यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनभयो । एनसीएनसी वर्षेनी नयाँ वर्ष, तीज, दशैं, तिहारलगायत नेपाली जात जातिका पर्व विशेष अनुसारका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

नेपालीहरुले यहाँ विभिन्न अवसरमा मनाउने चाड पर्व र भेषभुषाप्रति यहाँस्थित अमेरिकी नागरिकहरुको चासोका साथ उपस्थित हुन थालेको र त्यस्ता कार्यक्रममा सहभागी भइ रमाउने भएको एनसीएनसीले बताएको छ ।

नयाँ वर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा सेलरोटी, मःम, छोइला जस्ता नेवारी परिकार, पानीपुरी, आलुचपलगायत विभिन्न खानेकुराहरु, भेषभुषा, नेपाली कलात्मक हस्तकलाका सामानहरुका स्टलहरु राखिएको थियो ।