काठमाडौँ, वैशाख ६ गते । नेपाली काङ्ग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय सदस्यहरूको बैठक बोलाउनुभएको छ । बैठक आज आइतबार मध्यान्न १२:१५ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्ने भएको हो ।

सर्वोच्च अदालतले यहि वैशाख ४ गते शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई पार्टीको आधिकारिकता दिने फैसला गरेपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आफू पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको हो ।

खड्काले हिजो शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो । उक्त छलफलपछि निवर्तमान कार्यवाहक सभापति खड्काले केन्द्रीय समितिका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने भएको छ ।