काठमाडौँ, कात्तिक १९ गते । नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहीबार दिउँसो ३:०० बजेका लागि पदाधिकारी अनौपचारिक बैठक बस्न लागेको हो ।
बैठक काठमाडौँमा उपलब्ध पदाधिकारीहरूमात्रै बस्ने जनाइएको छ । आज बस्ने अनौपचारिक बैठकमा पदाधिकारीहरूको कार्यविभाजनका साथै मुलुुकको वर्तमान राजनीतिक अवस्था र पार्टीको अन्य आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
काङ्ग्रेसको गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूको अहिलेसम्म जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। पार्टीका विभिन्न विभागहरुको जिम्मेवारीका बारेमा अनौपचारिक छलफल हुने र पछि बस्ने पदाधिकारी बैठकबाट ठोस निर्णय हुने बताइएको छ ।




