कर्णाली, कात्तिक १९ गते । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन’ विपद् न्यूनीकरणको आधार बन्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वय सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल, पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट, ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोट र सोसेक नेपालको आयोजनामा आज यहाँ ‘युवा जलवायु सम्मेलन’को उद्घाटन गर्दै मन्त्री खड्काले युवाको सुरक्षित भविष्य निर्माणमा सम्मेलन कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

विश्वव्यापी चुनौतीको मुद्दा बनिरहेको जलवायु परिवर्तनको असरबाट कर्णाली प्रदेश टाढा नरहेको बताउँदै उहाँले भन्नुभयो, “कर्णाली अझ बढी जलवायु परिवर्तनको उच्च जोखिममा छ । यसको न्यूनीकरण र अनुकूलनका कार्यक्रममा युवा सहभागिता अनिवार्य सर्त हुनुपर्छ ।”

सामुदायिक वन संरक्षण तथा प्रवद्र्धनले हरित क्रियाकलापमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसमा युवाहरुले आफ्नो सक्रियात देखाउनुपर्नेमा मन्त्री खड्काको जोड थियो । प्रदेश सरकारले जलवायु परिवर्तनलगायत प्राकृतिक विपद् जोखिम न्यूनीकरणका कार्यक्रममा विशेष जोड दिँदै आएको उल्लेख गर्दै उहाँले विकास साझेदार, युवा, पत्रकार तथा नागरिक समाजले सरकारलाई सम्झाउने, झक्झक्याउने काम गरिरहन सुझाउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सरकारले गर्ने काममा विकास साझेदारले गर्दै आएकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । विश्व समुदायका लागि चुनौती बन्दै गएको जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राखेर आफ्नो पालिकाले जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम गर्दै आएको तथा त्यस्ता कार्यक्रममा युवा सहभागिता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शैक्षिक तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले भोटेकोशी बाढीपछि जलावायु परिवर्तनको मुद्दा अझ बढी पेचिलो बन्दै गएको बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा यो विषयलाई नीतिगत तहदेखि समुदायसम्म प्राथमिकताका राखेर सचेतनाका क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सेभ द चिल्ड्रेन सुर्खेत फिल्ड कार्यालयका कार्यक्रम व्यवस्थापक विष्णुकुमार बमले युवाको भविष्यलाई चासोका रुपमा लिएर प्रदेशस्तरीय युवा सम्मेलन कर्णालीमा आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा हरित क्रियाकलाप गर्नाका साथै समुदायमा पनि जलवायु न्यायका विषयमा छलफल गरिरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष विष्णुप्रसाद शर्मा र किर्डाक नेपालका अध्यक्ष सम्झनाकुमारी मल्लले युवा भविष्यलाई जोखिमबाट मुक्त गर्न जलवायु न्यायसम्बन्धी कार्यक्रम आवश्यक भएको धारणा राख्नुभयो । गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर बस्नेतले जलवायु परिवर्तनको बढ्दो असर कम गर्न समुदायलाई सक्रिय बनाउन जरुरी रहेको बताउनुभयो ।

सो सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार सह प्राडा सुदीप ठकुरी र भिडिसेफ नेपालका कार्यक्रम संयोजक मानवबहादुर शाहीले जलवायु परिवर्तनको बढ्दो असर, नेपाल तथा विश्व समुदायले भोगिरहेको चुनौती, त्यसको समाधानका लागि गरिएका प्रयास र आगामी जिम्मेवारीसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त सम्मेलनमा कर्णाली प्रदेशका ४५ स्थानीय तहका ३८–३४ वर्ष उमेर समूहका करिब एक सय युवाको सहभागिता रहेको थियो ।