महोत्तरी, कात्तिक १९ गते । महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले दीपावली र छठ पर्वको रौनक सुरु भएको छ । भोलि ‘धनतेरस’सँगै भित्रिने दीपावली र कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म विभिन्न विधिले सम्पन्न हुने पर्व छठको रौनकले मिथिला क्षेत्र अहिले देखिँदो छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनको हुने दीपावली पर्व यसपालि तिथिको घटबढले छ दिनको भएको छ ।
पर्वअघिदेखि नै गाउँनगर बस्ती सरसफाइ र सडक बत्ती जडान गर्ने सामूहिक अभियानदेखि आफ्ना घरआँगन साजसजामा सबै जुटेका पाइएको छ । पर्वका अवसरमा पक्की घरमात्र नभएर बाँसको चोयाका भित्ताका घर पनि विभिन्न रङका माटोले लिपपोत गरेर टलक्क टल्काइएका छन् । मिथिला क्षेत्रमा घर आमरूपमा बाँसका चोयाका भित्ता लगाइने पुरानै चलन छ । घर लिपपोत र रङरोगन दीपावली र छठ पर्वको स्थापित संस्कृति नै रहेको पाका मैथिल बताउँछन् ।
लोहारपट्टी–४ खुट्टा बस्तीका सामाजिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “दशहरादेखि नै घर सरसफाइ र रङरोगन थालिन्छ । दीपावली र छठअघि घर लिपपोत र रङरोगन गरिनै पर्ने चलन नै बसेको हुँदा धेरैजसोले यो काम यतिखेर गर्छन् ।”
दीपावली धनधान्यकी देवीको आराधना गरिने पर्व हुँदा यसबेला घर सरसफाइ र रङरोगन गर्ने मैथिल परम्परा रहेको छ । पर्व विशेषले अहिले झिक्राझिक्रीले बारिएका खर र खपडाले छाइएका गरिब बस्तीका घर पनि भित्ता टालटुल, लिपपोत र रङरोगनले टिलिक्क छन् ।
दीपावली सुरु हुनै लाग्दा अहिले महोत्तरीका गाउँ÷नगर बस्तीका सर्वसाधारण घर टल्काउने काममा व्यस्त छन् । झिलीमिली उज्यालोको पर्व मानिने दीपावली र भक्ति र निष्ठाको पर्व छठअघि बाँसका भाटा र झिक्राकै भित्ता भएका घर पनि परैबाट टिलिक्क टल्कने बन्दैछन् । सफा, स्वच्छ र राम्ररी लिपपोत गरेको उज्यालो घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले मिथिलामा यी पर्व खुसी र रमाइलोका मानिने गरिएको छ ।
“दिवाली ९दीपावली० पवनी ९पर्व०ले सबैतिर खुसी छर्ने विश्वास गरिन्छ । यो पवनीमा लक्ष्मीमाता गरिबका घरमा पनि पुग्नुहुन्छ,” भङ्गाहा–४ रामनगरकी ६० वर्षीया रामप्रिया साह भन्नुहुन्छ, “लक्ष्मी सरसफाइ र रङरोगन गरिएको उज्यालो घरमा प्रवेश गर्ने विश्वास गरिन्छ ।”
त्यस पर्वका अवसरमा घर रङरोगन गर्न छरछिमेकका दिदीबहिनीमा आपसी सहयोगको चलनले काम रमाइलो बन्ने गरेका उहाँ बताउनुहुन्छ ।
पछिल्ला केही वर्षयता भने पर्वमा माटो लिन जाने, घर लिपपोत र रङरोगनका काममा छरछिमेकको आपसी हेलमेल भने घट्दै गएको रामप्रियाको अनुभव छ । तर, आफ्नो बस्तीमा अझै हेलमेलबाटै यी काम हुँदै आएका उहाँले बताउनुभयो । ती चाडबाडका बेला कसको घर राम्रो लिपपोत र रङ्गरोगन भयो भन्ने गृहिणीबीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रूपमा ग्रामीण महिला सम्झन्छन् ।
घर सिङ्गार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन् । तर, धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् । घर लिपपोत र रङरोगन गरिन माटोसँगै चुन र विभिन्न रङको प्रयोग अचेल निकै बढेको छ ।
दसैँदेखि दीपावलीसम्म घर लिपपोत र रङरोगनको काम सकिएपछि घरबस्ती चहकिला देखिँदैछन् । दशहरा ९दसैँ०मा लिपपोत र रङरोगन गरिएका घरमा पनि दीपावलीअघि सरसफाइ र लिपपोत गरिने यहाँको परम्परा छ ।
दसैँमा घरको खानपानमा मासुको प्रयोग हुने तर दीपावली र छठ सात्विक विधिविधानले गरिनेहुँदा ती पर्वअघि लिपपोत र रङरोगन गर्नु परेको मैथिल गृहिणी बताउँछन् । रासस




