धनकुटा, कात्तिक १९ गते । कुनै समुदायको पहिचान उसको भाषा, वेशभूषा, संस्कार, संस्कृति र जीवनशैलीमा लुकेको हुन्छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यिनै मौलिक सम्पदाले समुदायको इतिहासलाई जीवन्त बनाउँछन् तर समय परिवर्तनसँगै परम्परागत जीवनशैली हराउँदै जान थालेपछि त्यसको संरक्षण र अभिलेखीकरण चुनौतीपूर्ण बन्दै गएको छ । यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले धनकुटामा निर्माण गरिएको आठपहरिया सङ्ग्रहालयको भवन तयार भएको छ । यद्यपि, भवन तयार भए पनि त्यसले समुदायको इतिहास र संस्कृति बोकेको सामग्रीलाई कहिले सर्वसाधारणसामु प्रस्तुत गर्ने भन्ने अन्यौल रहेको छ ।
धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया नजिक करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको दुईतले आठपहरिया सङ्ग्रहालय अहिले सञ्चालनको प्रतीक्षामा छ । दश कोठा र एउटा मुख्य हल रहेको भवनको छानो परम्परागत शैलीमा फुसले छाइएको छ । आधुनिक संरचनाभित्र मौलिक वास्तुशैली झल्काउने प्रयासले पनि सङ्ग्रहालयलाई आठपहरिया समुदायको सांस्कृतिक पहिचानसँग जोडेको छ । गतवर्ष आठपहरियाको ठूलो चाड वाडाङ्मेटको अवसरमा सञ्चालनमा ल्याउने भनिएको सङ्ग्रहालय हालसम्म सञ्चालनमा नआएको हो । आठपहरिया समुदायको इतिहास, संस्कृति र पुर्खाले छाडेर गएका जीवनशैलीलाई भावी पुस्तासम्म पु¥याउने अपेक्षासहित निर्माण गरिएको सङ्ग्रहालय सञ्चालनको तयारी भने गरिएको छ ।
सङ्ग्रहालयमा समुदायका परम्परागत पोशाक, बाजागाजा, कृषि औजार, घरेलु सामग्री तथा धार्मिक र सांस्कृतिक महत्वका वस्तु प्रदर्शन गर्ने योजना रहेको किरात आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाले बताउनुभयो । उहाँले यी सामग्रीले आठपहरिया समुदायको विगतको जीवनशैली, श्रम संस्कृति, सामाजिक परम्परा र धार्मिक विश्वास बुझ्न सहयोग गर्ने बताउनुभयो ।
पुर्खाको जीवनशैली जोगाउने प्रयास
आठपहरिया समुदायको मौलिक पहिचानसँग जोडिएका कतिपय परम्परा र संस्कार अहिले परिवर्तन हुन थालेका छन् । आधुनिक जीवनशैलीको प्रभाव, बसाइँसराइ र पुस्तान्तरणसँगै पुरानो पुस्ताले अपनाउँदै आएको जीवन पद्धति नयाँ पुस्तामा क्रमशः कम हस्तान्तरण हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने परम्परागत सामग्री, पहिरन, बाजागाजा र कृषि उपकरणसमेत विस्तारै प्रयोगविहीन बन्दै गएका छन् । कुनै समय दैनिक जीवनको अभिन्न हिस्सा रहेका सामग्री नयाँ पुस्ताका लागि अपरिचित बन्न थालेपछि तिनको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको थियो ।
सङ्ग्रहालयले यस्ता सामग्रीलाई सुरक्षित राख्ने, तिनको महत्वबारे जानकारी दिने र मौखिक इतिहासलाई अभिलेखीकरण गर्ने उदेश्य रहेको छ । यसले आठपहरिया समुदायका बालबालिका तथा युवालाई आफ्नै पुर्खाको जीवनशैली र सांस्कृतिक विरासत बुझ्न सहयोग पुग्नेछ भने अन्य समुदायका मानिसलाई आठपहरिया जातिको बारेमा जान्ने मौका मिल्ने अपेक्षा गरिएको समाजका महासचिव आठपहरियाले बताउनुहुन्छ ।
आठपहरिया समुदायको कला, संस्कृति र मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारबाट ५० लाख रुपैयाँ र धनकुटा नगरपालिकाबाट दुई करोड ८ लाख रुपैयाँ विनियोजन भएर काम गरिएको थियो । भवन निर्माणको अधिकांश काम सम्पन्न भइसकेको भए पनि आँगन निर्माण, भित्री व्यवस्थापन, सामग्री सङ्कलन र प्राविधिक तयारी लगायतका काम भने अझै बाँकी रहेका छन् । त्यसबाहेक सङ्ग्रहालयमा राखिने सामग्रीको छनोट, वर्गीकरण, अभिलेखीकरण र संरक्षणको काम पनि व्यवस्थित हुन सकेको छैन ।
यसवर्ष मंसिरमा मनाइने आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेटदेखि सङ्ग्रहालय सञ्चालनमा ल्याउने तयारी भइरहेको किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनुभयो । वाडाङ्मेट आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यही अवसरमा सङ्ग्रहालय सञ्चालनमा ल्याउनसके समुदायका लागि थप उत्समह थपिने उहाँको भनाइ छ ।
सङ्ग्रहालयमा राखिएका सामग्रीको दीर्घकालीन संरक्षण, सुरक्षा, प्रदर्शनी व्यवस्थापन र कर्मचारीको व्यवस्था पनि उत्तिकै आवश्यक छ । स्पष्ट कार्यविधि र जिम्मेवारी निर्धारण नहुँदा सङ्ग्रहालय सञ्चालनमा ढिलाइ भइरहेको छ । आधुनिक जीवनशैली र पुस्तान्तरणसँगै आठपहरिया समुदायको परम्परा, संस्कार र जीवन पद्धतिमा परिवर्तन आउन थालेपछि मौखिक इतिहास तथा सांस्कृतिक सामग्रीको अभिलेखीकरण आवश्यक देखिएको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताउनुभयो ।
नगरपालिकाले सङ्ग्रहालय सञ्चालनको जिम्मा वार्षिक केही रकम अनुदान दिएर आठपहरिया समाजलाई दिने तयारी गरे पनि समाजले भने जिम्मा लिने तत्परता भने देखाएको छैन । सुरुसुरुमा नगरपालिका नै सञ्चालन गर्नुपर्ने र सङ्ग्रहालयको आम्दानी हुन थालेपछि मात्रै समाजलाई जिम्मा दिनुपर्ने समाजका उपाध्यक्ष सूर्य आठपहरिया बताउनुहुन्छ ।
पहिचानसँगै पर्यटनकीय सम्भावना
आठपहरिया सङ्ग्रहालय सञ्चालनमा आएपछि यसले समुदायको सांस्कृतिक सम्पदा संरक्षणमा मात्र नभई धनकुटाको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउनसक्ने बताइएको छ । मौलिक संस्कृति, परम्परागत जीवनशैली र ऐतिहासिक सामग्रीबारे जानकारी लिन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि सङ्ग्रहालय आकर्षणको केन्द्र बन्ने बताइएको छ ।
सङ्ग्रहालयमा धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरियाले मान्ने २२ मार्गाथानीसहित ५२ चुले ठूलो घर, आठपहरिया संस्कार संस्कृति झल्काउने विभिन्न विभिन्न जानकारी राखिने समाजका महासचिव कोमल आठपहरिया बताउनुहुन्छ । जहाँ आठपहरियाको जन्मदेखि मृत्युसम्मको संसकार जानकारी गराइने उहाँको भनाइ छ । यसले विशेषगरी विद्यार्थी, अनुसन्धानकर्ता, संस्कृतिप्रेमी र नयाँ पुस्ताका लागि यो अध्ययन तथा अवलोकनको महत्वपूर्ण स्थल बन्ने उहाँको भनाइ छ ।
आफ्नै कला, संस्कार संस्कृति र चाडपर्व
आफ्नै कला, संस्कार संस्कृति रहेको आठपहरिया समुदायले मुख्यगरी वैशाखमा विशु अर्थात बैशाखे, भदौमा न्वागी अर्थात भदौरे तथा मंसिरमा वाडाङ्मेट अर्थात मंसिरे चाड मनाउने गरेका छन् । नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुखशान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ ।
आठ दिनसम्म मनाइने यस चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो र प्रमुख पर्वका रूपमा विशेष धुमधामका साथ मनाउने गर्छन् । विसु चाड रामनवमीपछिको दोस्रो सोमबारबाट सुरु भइ आठदिनसम्म अर्थात तेस्रो सोमबारसम्म मनाउने गरिएको छ । विशु चाडमा बाली लगाउने बेला भयो अब पानी पारिदेउ भन्दै मार्थाथान तथा प्रकृतिको पूजा गर्दै मनाउने गरिएको छ । चाडमा विशेषगरी महिलाको सुख–समृद्धिका लागि घर तथा कोठेबारीमा पूजा गर्ने चलन पनि रहेको छ ।
आठपहरिया समुदायले भदौमा मनाउने भदौरे अर्थात न्वागी चाड मनाउने गरेका छन् । नयाँ बाली पाकेपछि पितृ तथा कुल देवतालाई चढाएर आफूहरुले पनि खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । न्वागी चाड छ दिनसम्म मनाउने चलन रहेको छ । भदौ शुक्ल पूर्णिमापछिको मङ्गलवारदेखि आइतबारसम्म गरेर छ दिन न्वागी चाड मनाउने परम्परा छ ।
नयाँ बाली भित्र्याएपछि त्यसलाई पहिले कुल तथा पितृलाई चढाउने र त्यसपछि मात्रै आफूहरुले खाने चलन रहेको छ । आठपहरियाले वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने परम्परा छ । भदौ वा असोजमा भने वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै न्वागी चाड मनाएर कुल तथा पितृलाई नयाँ अन्न चढाउने गर्छन् । न्वागी चाडमा कुल पितृ तथा मार्गा देवतासँग तिमीले वर्षा गराइदिएकाले बाली लगाएर फलाउन सफल भयौँ, अब तिमी पनि खाऊ, हामी पनि खान्छौँ भन्ने मान्यता रहेको छ ।
मङ्सिरमा मनाउने वाडाङ्मेट चाड आठपहरियाको सबैभन्दा ठूलो चाड हो । वाडाङ्मेटमा पहिलो सन्तान जन्मेकोमा खुसीयाली तथा वर्षभरि बाबु वा आमा गुनाउनेका सन्तान तीन दिनको पैदल यात्रा गरेर सुनसरीको बराहक्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर केश दाह्री मुण्डन गरी सामूहिक रुपमा बरखी फुकाउने गर्दछन् । यस अवसरमा ढोल, मारुनी, डल्लो नाच लगायतका सांस्कृतिक गतिविधि गरिन्छ भने पैसाको माला दान गर्ने चलनसमेत रहेको छ ।
मङ्सिरे चाड आठपहरियाले १५ दिनसम्म मनाउने गरेका छन् । यी तीन वटै पर्वमा आठपहरिया समुदायका २२ थलोमा रहेका २२ वटा मार्गाथानी तथा ५२ चुले अर्थात् ठूलो घरमा विशेष पूजा गर्ने परम्परा छ । यस्तै विभिन्न कारणले धनकुटा नगरपालिका बाहिर रहेका आठपहरिया समुदाय यी चाडपर्व मनाउन तथा विभिन्न संस्कार गर्न धनकुटा नगरपालिका नै आउनुपर्ने मान्यता रहेको छ । अन्य ठाउँमा चाडपर्व र संस्कार, संस्कृति गर्दा कुनै मान्यता नहुने चलन रहेको किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाले बताउनुभयो । धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया जातिको जनसङ्ख्या करिब छ हजारको हाराहारीमा रहेको छ । रासस




