बेइजिङ, असोज ३१ गते । चीनले एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने एपीईसी सीईओ शिखर सम्मेलन गर्ने भएको छ । चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा २०२६ आगामी नोभेम्बर १७ र १८ तारिखमा एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले एपीईसी सीईओ शिखर सम्मेलनको आयोजना गर्ने भएको हो ।
‘साझा समृद्धि र सबैका लागि लाभदायी भविष्यको प्रवद्र्धन’ नाराका साथ आयोजना हुने सम्मेलनमा एपीईसी सदस्य अर्थतन्त्रका नेताहरू तथा व्यावसायिक प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा स्वतन्त्र व्यापार क्षेत्रको विकास, क्षेत्रीय सम्पर्क विस्तार, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल अर्थतन्त्र, ग्रेटर बे एरिया र दिगो विकासका विषयमा छलफल हुनेछ ।
चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् (सीसीपीआईटी) ले आयोजना गर्ने दुईदिने सम्मेलनले व्यापार सहजीकरण, लगानी विस्तार र औद्योगिक सहकार्यलाई प्राथमिकता दिनेछ ।
मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष एनजी यी पिङले सम्मेलनले क्षेत्रीय व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै कम्पनीहरूका लागि व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सीमापार व्यापार लागत घटाउन तथा डिजिटल व्यापार, एआई, जनशक्ति विकास र हरित प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो ।
सन् १९९६ देखि हरेक वर्ष आयोजना हुँदै आएको एपीईसी सीईओ शिखर सम्मेलन सदस्य अर्थतन्त्रका नेताहरू र व्यावसायिक प्रतिनिधिहरूबीच क्षेत्रीय आर्थिक विकासबारे छलफल गर्ने उच्चस्तरीय मञ्च हो ।
चीनले यस वर्षको एपीईसी सहकार्यका लागि खुलापन, नवप्रवर्तन र सहकार्यलाई तीन प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ ।
प्यानासोनिक होल्डिङ्स कर्पोरेसन समूहका कार्यकारी अधिकारी मासाहारु नाकायामाले एसिया–प्रशान्त क्षेत्रको आर्थिक गतिशीलताको आधार खुला सहकार्य रहेको बताउनुभयो। उहाँले आपूर्ति तथा मूल्य शृङ्खलाको एकीकरण सुदृढ गर्दै एआई, डिजिटल अर्थतन्त्र र दिगो विकासका अवसर उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एनजीका अनुसार चीनसँग डिजिटल प्रविधि, एआई, उन्नत उत्पादन र विद्युतीय वाणिज्यमा अनुभव छ भने मलेसियासँग बलियो उत्पादन आधार, दक्ष जनशक्ति र आसियान क्षेत्रको व्यावसायिक सञ्जाल छ । यी विशेषताले दुवै देशलाई औद्योगिक तथा नवप्रवर्तनका साझेदारका रूपमा अघि बढ्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सन् २०२६ लाई एपीईसीको ‘चीन वर्ष’ का रूपमा मनाइरहँदा क्षेत्रीय व्यावसायिक सहकार्य र आर्थिक सम्पर्क विस्तारमा प्रगति भएको जनाइएको छ ।
सीसीपीआईटीका अध्यक्ष रन होङबिनले सम्मेलनका क्रममा एसिया–प्रशान्त समुदाय निर्माणलाई सहजीकरण गर्ने उद्देश्यले ‘सेन्जेन पहल’ सार्वजनिक गरिने बताउनुभएको छ । एजेन्सी




