काठमाडौँ, असोज ३१ गते । काठमाडौँको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर पठाएको फूलपाती हर्ष बढाइँका साथ हनुमानढोका दरबारस्थित दशैंघरमा भित्राइएको हो ।
गोरखा दरबारदेखि मोटरबाट ल्याइएको उक्त फुलपाती काठमाडौंको जमलबाट नेपाली सेनासहितको टोलीले बसन्तपुरसम्म ल्याइपुर्याएको हो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने गरिन्थ्यो भने २०६६ सालदेखि मोटरबाटो प्रयोग गर्न थालिएको हो । आजदेखि देशैभर दशैंको रौनक छाएको छ । राष्ट्र्यि चाडको रुपमा हेरिंदै आएको दशैंको फूलपातीको दिनदेखि नै सार्वजनिक बिदा पनि सुरु भएको छ । फूलपातीको दिनदेखि नै दशैंको सार्वजनिक बिदा पनि सुरु हुने गर्दछ ।

यसैबीच दशैंको फूलपातीको अवसरमा आज काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले बढाइँ गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

फूलपाती बढाईं समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।




