रूपन्देही, असोज ३१ गते । रूपन्देहीको पूर्वी क्षेत्रमा बग्ने रोहिणी नदी नाम प्राकृतिक जलस्रोत मात्र नभई बुद्धकालीन इतिहास, सभ्यता र शान्तिको सन्देशसँग जोडिएको छ । प्राचीन शाक्य र कोलिय गणराज्यबीचको जलविवाद र भगवान् गौतम बुद्धले दिनुभएको शान्तिको सन्देशसँग सम्बन्धित यस नदीको ऐतिहासिक महत्त्व रहे पनि यसको पर्याप्त खोज, अनुसन्धान, संरक्षण र पर्यटकीय विकास हुन सकेको छैन ।

पहाडी क्षेत्रबाट उद्गम भई रूपन्देहीको देवदह, तिलोत्तमा, ओमसतिया र रोहिणी गाउँपालिकाका विभिन्न क्षेत्र हुँदै भारततर्फ बग्ने रोहिणी नदीले यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको छ । नदी आसपासको प्राचीन सभ्यता र बुद्धकालीन घटनासँगको सम्बन्धलाई उजागर गर्न सके यसले लुम्बिनी क्षेत्रको बौद्ध पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्ने सम्भावना छ ।

बौद्ध इतिहासका अनुसार रोहिणी नदीको पानी बाँडफाँटलाई लिएर शाक्य र कोलिय गणराज्यबीच विवाद उत्पन्न भएको थियो । खेतीपातीका लागि पानी उपयोग गर्ने विषयमा सुरु भएको विवाद युद्धको अवस्थासम्म पुगेपछि बुद्धले हस्तक्षेप गरी मानवजीवनको मूल्य पानीभन्दा ठूलो रहेको सन्देश दिनुभएको बुद्ध त्रिपिटकमा उल्लेख छ । पानीका लागि मानव जीवन समाप्त गर्नु उचित नहुने सन्देशमार्फत उहाँले दुवै पक्षलाई युद्धबाट पछि हट्न प्रेरित गर्नुभएको थियो ।

यस प्रसङ्गले रोहिणी नदीलाई जलस्रोतका रूपमा मात्र नभई शान्ति, सहअस्तित्व र विवाद समाधानको प्रतीकका रूपमा समेत महत्त्वपूर्ण बनाएको छ । यही ऐतिहासिक पक्षलाई आधार बनाएर नदीसँग सम्बन्धित सभ्यताको अध्ययन र प्रवर्द्धन गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधि गौतमका अनुसार रोहिणी नदी बुद्धकालीन सभ्यता र इतिहाससँग जोडिएको महत्त्वपूर्ण नदी हो । यससँग सम्बन्धित ऐतिहासिक घटनाको अध्ययनले बुद्धको शान्ति र मानवतावादी दर्शनलाई बुझ्न सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले रोहिणी सभ्यताको खोज, अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको पहिचान गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न सके बौद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

स्थानीय सञ्चारकर्मी अञ्जना चौहानले रोहिणी सभ्यतालाई लुम्बिनीसँग जोडेर विश्वस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । यसका लागि राज्यले रोहिणी नदीको ऐतिहासिक महत्त्व पहिचान गर्दै संरक्षण, प्रचारप्रसार र पर्यटन विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

बुद्ध अनुसन्धानका ज्ञाता सुरज घिमिरेका अनुसार रोहिणी नदीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व उजागर गर्न प्रामाणिक अनुसन्धान र संरक्षण आवश्यक छ । लुम्बिनी, देवदह र प्राचीन कपिलवस्तुसँग जोडेर रोहिणी सभ्यताको अध्ययन तथा पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रलाई अन्तरराष्ट्रिय बौद्ध पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

रोहिणी नदीको ऐतिहासिक पहिचान स्थापित गर्न नदीको उद्गम, प्राचीन बस्ती, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक सम्पदाको अनुसन्धान आवश्यक देखिन्छ । स्थानीय तह, लुम्बिनी विकास कोष, विश्वविद्यालय तथा अनुसन्धानकर्ताबीच सहकार्य गरी संरक्षण र पर्यटन विकासका योजना अघि बढाउन सके बुद्धले दिनुभएको शान्ति र सहअस्तित्वको सन्देश बोकेको रोहिणी सभ्यतालाई विश्वसामु चिनाउन सकिने अपेक्षा गरिएको छ । रासस