काठमाडौँ, असोज ३१ गते । दशैँ आयो । गाउँघरका आँगनमा रातो माटो र कमेरोले पोतिएका घरहरू, बाटोभरि लहरिएका पिङहरू, बजारमा झुन्डिएका नयाँ लत्ता कपडा र घरघरमा पाक्न थालेका मीठा परिकारले दसैँको आगमनको सङ्केत दिइरहेको छ । कतै नवदुर्गा भवानीका मठमन्दिरमा जमरा राखिएका छन्, कतै दशैँको तयारी हुँदै छ, त कतै परदेशबाट छोराछोरी घर फर्किने दिन गन्दै बाआमाका आँखा बाटोतिर टोलाइरहेका छन् । तर, यही दशैँैँको रङ्गीन उत्सवभित्र एउटा यस्तो पीडा पनि लुकेको छ, जसलाई न त उत्सवका झिलिमिली बत्तीले छोप्न सक्छन्, न त खुसीका गीतहरूले मेटाउन नै सक्छन् ।
परदेशमा पसिना बगाइरहेका हजारौँ नेपालीका निधार यसपटक पनि रित्तै छन् । आफ्ना रहरहरूलाई बाकसमा थन्क्याएर, परिवारको खुसीका लागि आफ्नो खुसी बेचेर, ऋणको भारी र जिम्मेवारीको पहाड बोकेर परदेशिएका नेपालीहरूका लागि दशैँ कहिलेकाहीँ उत्सवभन्दा बढी सम्झनाको घाउ बनेर आउँछ । अरूका घरमा दशैँैँको रौनक सजाइदिने हातहरू आफ्नै घरको आँगनमा पुग्न पाउँदैनन् । अरूका सन्तानलाई नयाँ लुगा किनिदिने, अरूका घरमा खुसी बाँड्ने ती हातहरू आफ्नै आमाको हातबाट टीका थाप्न र बुबाको आशीर्वाद लिन हजारौँ माइल टाढा विवश हुन्छन्
यता गाउँघरमा उमेरले थाकेका शरीर, मायाले भरिएका आँखा र सन्तानको प्रतीक्षामा रहेका बाआमा दिनहरू गन्दै बसेका छन् । घरको आँगन सफा गर्दा होस् वा दशैँका लागि आवश्यक सामान जुटाउँदा, उनीहरूका मनमा एउटै प्रश्न बारम्बार उठ्छ— यसपालि त मेरो छोरो आउला कि ? मेरी छोरीले यसपालि त निधारमा टीका लगाउन पाउली कि ?
फोनको घण्टी बज्दा पनि मुटु ढक्क फुल्छ । भिडियो कलमा छोराछोरीको अनुहार देख्दा ओठमा मुस्कान त आउँछ, तर आँखाको कुनामा लुकेको आँसु कसले देख्छ र ? पर्दाभित्रबाट आएको आवाजले मन त भरिन्छ, तर सन्तानको टाउको सुमसुम्याउन नपाउँदाको रिक्तता कसले मेटिदिन्छ ?
दशैँको दिन अरूका घरमा छोराछोरीले बाआमाको हातबाट टीका र जमरा थाप्दा, परदेशमा बसेका नेपालीहरू मोबाइलको स्क्रिनमा आफ्ना परिवारको खुसी नियालिरहेका हुन्छन् । निधारमा टीका लगाउने रहर हुन्छ, तर लगाइदिने हात टाढा हुन्छन् । शिरमा जमरा सिउरिने चाहना हुन्छ, तर आशीर्वाद दिने बुबाआमाको काख र हातको स्पर्श उपलब्ध हुँदैन । त्यतिबेला दशैँको खुसी पनि आँखाबाट झर्ने आँसुमा मिसिएर आउँछ ।
गाउँको घरमा बाआमाले मीठोमसिनो पकाउँछन्, नयाँ लुगा किनेर राख्छन्, छोराछोरीको कोठा सफा गर्छन् । मानौँ, उनीहरू कुनै पनि बेला ढोका खोलेर भित्र पस्नेछन् । तर साँझ ढल्दै जान्छ, बाटो सुनसान बन्दै जान्छ र प्रतीक्षामा बसेका आँखाहरू थाक्दै जान्छन् । अन्ततः फोनमा आएको एउटा सन्देशले मन बुझाउनुपर्छ—आमा, यसपालि पनि बिदा मिलेन । अर्को साल पक्कै आउँछु है !
कति सजिलै भनिन्छ— अर्को साल ! तर बुढ्यौलीले थिचिएका ती आमाबुबाका लागि अर्को सालसम्मको प्रतीक्षा कति लामो हुन्छ, त्यो कसले बुझिदिन्छ ? उनीहरूलाई धनभन्दा सन्तानको उपस्थिति प्यारो हुन्छ । महँगो उपहारभन्दा सन्तानको अँगालो अमूल्य हुन्छ । हजारौँ रुपैयाँभन्दा निधारमा आफ्नै हातले लगाइदिएको एउटा रातो टीका अनमोल हुन्छ ।
विडम्बना त के छ भने, देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदानको चर्चा भइरहँदा त्यही रेमिट्यान्स पठाउने हातहरू चाडपर्वमा आफ्नै परिवारको न्यानोपनबाट वञ्चित छन् । उनीहरूले देश र परिवारका लागि आफ्नो जवानी, समय र रहरहरू खर्चिरहेका छन् । तर उनीहरूको मनभित्रको एक्लोपन र गाउँघरमा प्रतीक्षारत बाआमाको मौन पीडा कुनै आर्थिक तथ्याङ्कमा अटाउँदैन ।
दशैँ केवल निधारमा लगाउने टीका, कानमा सिउरिने जमरा र मीठोमसिनो खाने पर्व मात्र होइन; यो त परिवारिक मिलन, वर्र्षाैदेखि टाढा रहेका मन र सम्बन्धहरूमा न्यानोपन थपिने अवसर पनि हो । तर जब यही पर्वमा सन्तान परदेशमा विवश हुन्छन् र बाआमा गाउँघरमा एक्लै टोलाइरहन्छन्, तब दशैँको उमङ्गभित्र एउटा गहिरो प्रश्न उभिन्छ, परदेशिएकाहरुलाई आखिर आफ्नै देशमा परिवारसँग बसेर सम्मानपूर्वक जीवन बिताउन पाउने वातावरण कहिले बनाउने ?
हाम्रा सन्तानले रहरले परदेश रोजेका हुन् कि बाध्यताले ? आफ्नै माटोमा पसिना बगाएर परिवार पाल्न नसक्ने अवस्था किन छ ? चाडपर्वमा घर फर्किने चाहना हुँदाहुँदै पनि बिदा, खर्च, रोजगारी र ऋणको बन्धनले किन उनीहरूलाई रोकिरहन्छ ? यी प्रश्नहरूको उत्तर खोज्नु केवल परिवारको जिम्मेवारी होइन, राज्य र समाजको दायित्व पनि हो ।
यस वर्षको दशैँमा गाउँघरका आँगनमा जमरा उम्रिउन्, निधारमा टीका सजिउन् र घरघरमा खुसी छाओस् । तर त्यो खुसी केवल घर फर्किन पाएकाहरूको भागमा मात्र नपरोस् । परदेशमा रित्तो निधार लिएर बसेका नेपालीका आँखामा पनि आशाको उज्यालो छाओस् । गाउँघरमा बाटो हेरिरहेका बाआमाका आँखाले पनि आफ्ना सन्तानको अनुहार नजिकबाट देख्न पाऊन् ।
किनकि, बाआमाका लागि दसैँको सबैभन्दा ठूलो उपहार कुनै महँगो सामान होइन, छोराछोरीको उपस्थिति हो। उनीहरूका लागि सबैभन्दा ठूलो दक्षिणा पैसाको खाम होइन, सन्तानको स्नेह हो। र निधारमा सजिने सबैभन्दा सुन्दर टीका त्यही हो, जुन लगाउँदा आमाको हात काँप्छ, बुबाका आँखा रसाउँछन् र सन्तानको शिर आशीर्वादले झुक्छ।
परदेशमा रित्तो निधार र गाउँघरमा रित्तिएका आँगनहरूबीचको दूरी केवल हजारौँ किलोमिटरको होइन, बाध्यता, विवशता र अधुरा रहरहरूको दूरी हो । यो दूरी घटोस् । कुनै आमाले दसैँको दिन ढोकामा बसेर छोराको बाटो हेर्दै आँसु पुछ्नु नपरोस्। कुनै बुबाले छोरीको निधारमा टीका लगाउन भिडियो कलको स्क्रिन खोज्नु नपरोस्। कुनै सन्तानले आमाबुबाको आशीर्वाद सम्झेर परदेशको कोठामा एक्लै आँसु झार्नु नपरोस्।
आउँदो दसैँ केवल पात्रोमा फेरिएर नआओस्; नेपालीका बाध्यताहरू फेरिएर आओस्। परदेशिएका सन्तान फर्किने बाटो खुलोस्, गाउँका घरहरूमा फेरि हाँसो गुञ्जियोस् र बाआमाका निधारमा सन्तानको उपस्थितिले खुसीको टीका सजियोस्।
दसैँको साँचो उमङ्ग त्यही दिन पूरा हुनेछ, जुन दिन नेपालीले आफ्नो परिवारको खुसीका लागि आफ्नै खुसी र आफ्नै देश छोड्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन्।




