काठमाडौँ, असोज २६ गते । नेपाली काङ्ग्रेस नयाँ नेतृत्वसहित केन्दीय सदस्यहरुको मत गणनाको काम सुस्त देखिएको छ । चार दिनदेखि मत गणना सुरु भएको भएता पनि फितलो व्यवस्थापनका कारण मतगणनामा विलम्ब देखिएको हो ।
काङ्ग्रेसको १५औँ महाधिवेशनबाट सभापति, उपसभापति र महामन्त्रीहरुको नतिजा सार्वजनिक भइसके पनि सहमहामन्त्री र केन्द्रीय सदस्य पदको जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरिएको निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिको सदस्यसमेत रहनुभएका अधिवक्ता राजु कटुवालले २३ वटा मतगणना स्थलहरूबाट मतगणना कार्य भइरहेको बताउनुभयो।
निर्वाचन समितिका सदस्य कटुवालले कुल २३ वटा मतगणना स्थलहरूमा ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मत गणना भइरहेको जानकारी गराउँदै करिब १ लाख ८४ हजार मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्ने छ भन्नुभयो।
निर्वाचन समितिका अनुसार नेपाली जनसम्पर्क समितिको ९ स्थानमा, आदिवासी जनजाति समूहको ३ स्थानमा, महिला र खुला सह–महामन्त्री पदको ४ स्थानमा र पिछडिएको क्षेत्रको २ स्थानमा मत गणना भइरहेको छ ।
पार्टीको भौतिक संरचनाले भ्याएसम्मको स्थानहरूमा मतगणना भइरहेको र थप स्थलहरूका लागि कार्यालय बाहिर टेन्ट टाँगेर भए पनि मतगणनाको सङ्ख्या बढाउने प्रयास भइरहेको निर्वाचन समितिका सदस्य कटुवाल बताउनुभयो।
अघिल्लो पटकको महाधिवेशनमा मतगणनाका लागि करिब १२ दिनको समय लागेको भन्दै समितिका सदस्य कटुवाले ‘यस पटक थप क्लस्टर र मतदाता सङ्ख्या बढेकाले काममा चुनौती छ, तर हामी द्रुत गतिमा काम गरिरहेका छौँ। हामीले ३ दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ’ भन्नुभएको छ ।




