वार्सा, असोज २६ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा घोषणा गरेको ‘ऊर्जा युद्धविराम’ पालना नगरे युक्रेनले जवाफी कदम चाल्ने चेतावनी दिनुभएको छ । सोमबार भिडियोमार्फत वार्सा सुरक्षा मञ्चलाई सम्बोधन गर्दै जेलेन्स्कीले भन्नुभयो, “यदि रुस ऊर्जा युद्धविराममा सहमत भएन भने हामी जवाफ दिनेछौँ ।”

ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा युद्धविरामको घोषणा गरे पनि त्यसबारे विस्तृत विवरण सार्वजनिक नगरेकाले अन्योल उत्पन्न भएको छ । उहाँको घोषणाले किएभलाई आश्चर्यमा पारेको छ भने मस्कोले औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, युक्रेनका पश्चिमी सहयोगीले यस कदमलाई समर्थन गरेका छन् ।

“हामी अमेरिकी र रुसी अधिकारीबीचको वार्ताको विवरण पर्खिरहेका छौँ । साथै, अमेरिकाले कस्ता ठोस कदम चाल्न तयार छ भन्ने पनि हेर्नेछौँ,” जेलेन्स्कीले भन्नुभयो ।

ट्रम्पको ऊर्जा युद्धविरामसम्बन्धी घोषणा रुसी डिजेलमाथि लगाइएका अमेरिकी प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने निर्णयको दुई दिनपछि आएको हो । उक्त निर्णयप्रति युरोपेली सहयोगी र युक्रेनले असन्तुष्टि जनाएका थिए । उनीहरूका अनुसार यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप बल पु¥याउन सक्छ ।

जेलेन्स्कीले रुसले युक्रेनका तेल प्रशोधन केन्द्र र तेल निर्यातका पूर्वाधारमा हुने लामो दूरीका आक्रमण रोक्न चाहेको अवस्थामा युक्रेनी ऊर्जा प्रणाली तथा महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्न पनि बन्द गर्नुपर्ने बताउनुभयो ।

“यदि रुस हामीले उसका तेल प्रशोधन केन्द्र र तेल निर्यातमाथि गर्ने लामो दूरीका आक्रमण रोकौँ भन्ने चाहन्छ भने उसले पनि हाम्रो ऊर्जा प्रणाली र महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्न तथा हाम्रा नागरिकको हत्या गर्न बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

ट्रम्पले यसअघि पनि युक्रेन वा रुसले औपचारिक पुष्टि गर्नुअघि नै आफ्नो ‘ट्रुथ सोसल’ खातामार्फत युद्धविराम तथा अन्य सम्भावित सहमतिबारे घोषणा गर्दै आउनुभएको छ ।

जेलेन्स्कीले तनाव कम गर्न र सुरक्षा सुनिश्चित गर्न ऊर्जा युद्धविरामसहितका ठोस कदम आवश्यक रहेकोमा जोड दिनुभयो ।

“तनाव कम गर्न र सुरक्षाको प्रत्याभूति गर्न ऊर्जा युद्धविराम तथा अन्य कदम वास्तवमै आवश्यक छन्, ती ‘ट्रुथ सोसल’मा मात्र सीमित हुनुहुँदैन,” उहाँले भन्नुभयो ।एजेन्सी