चितवन, असोज २६ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लगानीमैत्री वातावरण बनाइने बताउनुभएको छ । चितवनको भरपुरस्थित चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नेक्रममा कानुनमन्त्री गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताउनुभएको हो ।

प्रमुख अतिथिको रुपमा उद्योग सङ्घको साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गौतमले अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले त्यस्ता कानुनहरुलाई समयसापेक्ष संशोधन गरिने बताउनुभएको छ।

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको उल्लेख गदै कानुनमन्त्री गौतमले “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ” भन्नुभयो । 

मन्त्री गौतमले देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ रु भनेर बृहत् कार्यशाला गरिसकिएको जानकारी दिनुभयो । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा मा जोड दिंदै मन्त्री गौतमले कानुन निर्माण गर्ने जस्तो महत्वपूर्ण विषय रातारात नहुने बताउनुभयो ।

“अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्‍यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ” मन्त्री गौतमको भनाइ थियो ।