मकवानपुर, असोज २२ गते । आगामी मङ्सिरमा कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा बागमती प्रदेश सहभागी हुनेभएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले सो कुराको जानकारी गराउनुभएको हो ।

सदस्यसचिव लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशबाट ६५६ खेलाडीसहित कुल ७८२ जनाको सहभागिता रहने छ । प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल सङ्घहरुलाई तयारी र खेलाडी छनोटका लागि पत्राचारसमेत गरिसकेको छ ।

उक्त प्रतियोगितामा सहभागी हुने सबै खेलका खेलाडीको छनोट प्रक्रिया आगामी कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उक्त परिषद्ले जनाएको छ । कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिनेछन् भने बाँकी खेलमा खुल्ला छनोट हुने बताइएको छ । खुल्ला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्ने उक्त परिषद्ले जनाएको छ ।

यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि १०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको र उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिने सदस्यसचिव लामाले बताउनुभयो । 

कर्णाली प्रदेशमा हुने उक्त राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष प्रशिक्षण दिन बागमती प्रदेश खेलकुद विकास परिषद्ले तयारी गरिएको छ । खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ ।

आवश्यकताअनुसार योग्य प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण गराइने सदस्यसचिव लामाले बताउनुभयो । “उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दैछौँ”, उहाँले भन्नुभयो । प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशले पाँच करोड ६० लाख रुपैयाँ को स्रोत सुनिश्चित गरेको छ भने उक्त प्रतियोगितामा विजयी भई पदक जित्ने खेलाडीहरुलाई प्रदेश सरकारले नगद पुरस्कार दिने व्यवस्थासमेत गर्नेभएको छ। 

प्रदेश सरकारले स्वर्ण पदक विजेता खेलाडीलाई एक लाख रुपैयाँ, रजत पदक प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ र कास्य पदक जित्ने खेडाली लाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ ।