धनकुटा, असोज १३ गते । आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु गरेका छन् । मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा बोकेको उक्त पर्व नयाँ बाली पाकेपछि मनाउने चलन छ । नयाँ अन्न पितृ तथा कुलदेवतालाई चढाएर खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।
यो पर्व छ दिनसम्म मनाउने चलन छ । नयाँ बाली भित्र्याएपछि त्यसलाई कुल तथा पितृलाई चढाउने र त्यसपछि खाने चलन रहेको किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनुभयो । पहिलो दिन मङ्गलबार मार्गाथान सरसफाइ, दोस्रो दिन बुधबार ओमाडाम अर्थात् मार्गाथानमा कुखुराका चल्ला पुजा, तेस्रो दिन बिहीबार राँगोको भेजो लगाउने, चौथो दिन शुक्रबार भेजो मार्गाथानमा चढाउने तथा पितृ पूजा गर्ने, पाँचौँ दिन शनिबार वनभोज खाने र छैटौँ दिन आइतबार पर्वको विसर्जन गर्ने चलन छ ।
वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने परम्परा छ । भदौ वा असोजमा वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै न्वागी चाड मनाएर कुल तथा पितृलाई नयाँ अन्न चढाउने गरिन्छ ।
इन्द्र भगवानले वर्षा गराइदिएकाले अन्न फलाउन सफल भयौँ, अब तिमी पनि खाउ, हामी पनि खान्छौँ भन्ने मान्यता रहेको आठपहरियाको भनाइ छ । उक्त समुदायले न्वागी ९भदौरे०, विशु ९वैशाखे० र वाडाङ्मेट ९मङ्सिरे० गरी तीन वटा प्रमुख पर्व मनाउने गरेका छन् ।
सो पर्वमा आठपहरिया समुदायका २२ थलोमा रहेका २२ वटा मार्गाथानी तथा ५२ चुले अर्थात् ठूलो घरमा विशेष पूजा गर्ने परम्परा छ । तीन पर्वमध्ये आठपहरियाको मुख्य पर्वका रुपमा मङ्सिरे अर्थात् वाडाङ्मेटलाई लिइन्छ । वर्षभरि परेको शोकलाई सामूहिक रुपमा उकास्ने तथा जेठो सन्तान जन्मिएको र नयाँ घर निर्माण भएको खुसियाली मनाउने पर्वका रुपमा वाडाङ्मेट मनाइन्छ । यस अवसरमा ढोल, मारुनी, डल्लो नाचलगायतका सांस्कृतिक गतिविधि गरिन्छ भने पैसाको माला दान गर्ने चलन छ ।
वैशाखमा आठ दिनसम्म विसु पर्व मनाउने गरिन्छ । भूमिपूजा, देवस्थलको सरसफाइ, बलि, पितृपूजा, सामूहिक वनभोज, धनुषबाणबाट तारो हान्ने तथा बिदाइ पूजा गर्दै विसु मनाउने परम्परा रहेको किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाले बताउनुभयो ।
संस्कृति सङ्कटमा
पूर्वी नेपालमा अरुण र तमोर नदीबीचको धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको आठपहरिया समुदाय अहिले आफ्नो मौलिक संस्कृति जोगाउने चुनौतीमा छ ।
मुख्य बसोबास धनकुटा नगरपालिकामा रहेको यस समुदायको आफ्नै भाषा, संस्कार, भेषभूषा, पूजा प्रणाली, सामाजिक संरचना र पर्व भए पनि आधुनिकताको प्रभावसँगै मौलिकता सङ्कटमा परेको समुदायका अगुवाले बताउने गरेका छन् ।
विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार धनकुटा नगरपालिकामा आठपहरिया समुदायको जनसङ्ख्या पाँच हजार ८७८ रहेको छ ।
आठपहरिया समुदायभित्र छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङलगायत १९ जातीय समूह रहेको बताइन्छ । आठपहरिया समुदायले लामो समयदेखि आफूलाई छुट्टै आदिवासी जनजातिका रुपमा सूचीकृत गर्नुपर्ने माग गर्दै आएको छन् । समुदायले २०५८ देखि सङ्गठित रुपमा पहल थालेको किरात आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाले बताउनुभयो ।
“पहिचानअनुसारका सबै प्रमाणका आधारमा हामी आठपहरिया नै हौँ”, उहाँले भन्नुभयो, “त्यसैले नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने हाम्रो माग हो ।”
उहाँका अनुसार राज्यले आठपहरियाको छुट्टै पहिचानलाई औपचारिक रुपमा स्वीकार नगर्दा समुदाय सामाजिक, शैक्षिक तथा आर्थिक रुपमा पछाडि परेको छ । आफ्नै भाषा, भेषभूषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक संरचना भए पनि छुट्टै समुदायका रुपमा राज्यबाट मान्यता नपाउँदा अस्तित्व ओझेलमा परेको उहाँको भनाइ छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आठपहरियालाई सूचीकृत गर्नुपर्ने समुदायको माग रहेको बताउनु भयो ।
प्रक्रियामा केही समस्या भए पनि समुदायको पहिचान संरक्षणका लागि राज्यस्तरबाट पहल आवश्यक रहेको उहाँको भनाइ छ । नगरपालिकाले आठपहरियाको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरेको र चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको तामाङले बताउनुभयो ।
पालिकाले आठपहरियाको मौलिक भेशभूषा संरक्षणका लागि सिलाइसम्बन्धी तालिमसमेत सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
लोप हुँदै आठपहरिया भाषा
आठपहरिया समुदायको भाषा संरक्षणको चुनौतीमा छ । आफ्नै लिपि हालसम्म पत्ता लाग्न नसकेको आठपहरिया भाषा मुख्यतः कथ्य भाषाका रुपमा प्रयोग हुँदै आएको छ । पछिल्लो समय देवनागरी लिपिको प्रयोग गरी आठपहरिया भाषाको व्याकरण लेखन तथा अध्ययन–अध्यापनको प्रयास भने भइरहेको छ ।
नयाँ पुस्तामा मातृभाषाको प्रयोग घट्दै जाँदा भाषा लोप हुने जोखिम बढेको स्थानीय धनबहादुर आठपहरियाले बताउनुभयो ।
नेपाली भाषाको बढ्दो प्रभाव र पछिल्लो समय अभिभावकमा अङ्ग्रेजी भाषाप्रतिको आकर्षणले मातृभाषाको पुस्तान्तरण कमजोर हुँदै गएको भनाइ छ । “आठपहरिया भाषा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।”, धनबहादुरले भन्नुभयो, “अन्य भाषाको प्रभावसँगै घरभित्रै नेपाली भाषाको प्रयोग बढ्दा नयाँ पुस्ताले आफ्नो मातृभाषा सिक्ने क्रम कमजोर भएको छ ।”
भाषा नै धर्म, संस्कृति, परम्परा र जातीय पहिचान जोगाउने प्रमुख आधार भएकाले यसको संरक्षणका लागि विशेष पहल आवश्यक रहेको उहाँको भनाइ छ ।
मौलिक भेषभूषा र घर पनि सङ्कटमा
आठपहरिया समुदायका महिला तथा पुरुषले लगाउने परम्परागत पोसाक र गहनाले छुट्टै सांस्कृतिक पहिचान बोकेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण मौलिक पोसाक तथा गहनाको प्रयोग घट्दै गएको छ । सो समुदायका परम्परागत घरसमेत लोप हुँदै गएका छन् । आधुनिक संरचना विस्तारसँगै परम्परागत खरको छाना भएका घरहरु विस्थापित हुँदै गएका हुन् ।
कुल पूजा गर्ने घर खरको छानाले छाएको हुनुपर्ने परम्परा रहेको छ । जस्तापाताले छाएको ठाउँमा पूजा गर्न हुँदैन भन्ने मान्यता छ । धनकुटा नगरपालिकाले फुसको छाना भएका घरमा जस्तापाता उपलब्ध गराएपछि परम्परागत घर घट्दै गएका हुन् ।
धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको सो समुदायले मौलिक चाडपर्व, भाषा, भेषभूषा, धार्मिक तथा सांस्कृतिक परम्परा जोगाउँदै आएको भए पनि पुस्तान्तरण कमजोर बन्दै जाँदा संस्कृति संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।
पहिले पहिले आठपहरिया समुदायका मानिस धनकुटाको अरुण र तमोर नदी कटेर बास बस्ने गरि जान हुँदैन भन्ने मान्यता थियो । पछिल्लो समय रोजगारीको शिलशिलामा युवा देशको विभिन्न ठाउँमा तथा विदेशमा पनि जाने गरेका छन् । यद्यपि आठपहरिया समुदायका मानिस जहाँ बसोबास भए पनि चाडपर्व मनाउन तथा कुल पितृको पूजा गर्न धनकुटा नै आउनुपर्ने मान्यता भने कायम रहेको छ । रासस




