काठमाडौँ, असोज १२ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गर्नुभएको छ । सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । उहाँ सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा हुनुहुन्थ्यो ।
तर देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले पूर्वनिर्धारित कोरिया भ्रमण स्थगित गर्नुभएको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको थियो । त्यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा पुनः बाढीपहिरो तथा डुबानका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिका साथै सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । विपद्बाट प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन् ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत, समन्वय तथा प्रभावित नागरिकसँगको सम्पर्कमा कठिनाइ भइरहेको अवस्था सञ्चार सम्पर्कलाई यथासक्य नियमित र प्रभावकारी बनाउनु सरकारको महत्वपूर्ण दायित्व बनेको छ ।
यही परिस्थितिलाई ध्यानमा राख्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकभित्रको विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना र निरन्तरतासम्बन्धी कामलाई प्राथमिकता दिनुभएको मन्त्रालयले जनाएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । भ्रमण स्थगनको मुख्य कारण मुलुकका विभिन्न क्षेत्रमा विपद्का कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा सञ्चार सेवा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।




