हेटौँडा, असोज १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मन्त्री, सचिव तथा मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यसम्पादन करार समारोहमा उहाँले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अब बाँकी अवधिमा तदारुकताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

“अब हाम्रो काम गर्ने समय मोटामोटी २०० दिन हो”, उहाँले भन्नुभयो, “विशेषगरी विकास निर्माणसँग सम्बन्धित मन्त्रालयले  ढिलासुस्ती गरे अपेक्षित प्रगति देखाउन सकिँदैन ।”

मुख्यमन्त्री थापाले नयाँ सरकार गठनसँगै प्रदेशका विभिन्न जिल्लामा आएको विपद्का कारण कार्यसम्पादन सम्झौता केही ढिला भएको बताउनुभयो । अब चालु आर्थिक वर्षका कार्यक्रमलाई निर्धारित समय, लागत र गुणस्तरअनुसार सम्पन्न गर्न मन्त्रालयहरूले स्पष्ट कार्यतालिका बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश कार्यक्रमलाई नतिजा सूचकमा आधारित भएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सुशासन ऐन, २०७७ र प्रदेश सुशासन नियमावली, २०७७ अनुसार मुख्यमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सम्बन्धित मन्त्रालयका सचिवसँग तथा सचिवले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गर्ने व्यवस्था छ । समारोहमा मुख्यमन्त्री थापासँग प्रदेश सरकारका मन्त्री तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो।