काठमाडौँ, असोज १३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन पुर्याउनुभएकोे योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको थियो ।
राजदूत श्रीवास्ताव आफ्नो कार्यकाल सम्पन्न गरेर स्वदेश फर्कँदै हुनुहुन्छ । उपराष्ट्रपति यादवले नेपालमा हालैको विनाशकारी बाढीको कठिन घडीमा भारत सरकारद्वारा प्रदान गरिएको मानवीय तथा विपद् सहायताप्रति धन्यवाद व्यक्त गर्नुभएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्ध थप घनिष्ट बनाउन आफूले सक्दो प्रयास गरेको भन्दै नेपाल र नेपालीको सम्झना सदैव रहिरहने बताउनुभएको थियो ।




