काठमाडौँ, असोज ४ गते । जनमत पार्टीको अध्यक्षमा डा. चन्द्रकान्त (सिके) राउत पुनः निर्विरोध हुनुभएको छ । पार्टीको अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेकोले उहाँ पुनः अध्यक्षमा निर्विरोध ह्ुनुभएको हो ।

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा यही असोज ९ र १० गते हुँदैछ । अध्यक्षमा एकल उम्मेदवारी परेकाले महाधिवेशन सुरु हुन्अघि नै डा. राउत अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । पार्टीको आगामी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा असोज १ गते उम्मेदवारी दर्ताको मिति तोकेको थियो ।

असोज ९ गतेदेखि सुरु हुने महाधिवेशन अघि नै आगामी नेतृत्वका लागि गत बिहीबार उम्मेदवारी दर्ता भएको थियो। सो पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले बताए अनुसार विभिन्न पदमा १०३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षबाहेक अन्य सबै पदमा भने प्रतिस्पर्धा हुने भएको छ। सो पार्टीको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय आज आइतबार साँझ ५ बजेसम्म तोकिएको छ। अध्यक्षसहित अन्य पदाधिकारीको प्रक्रियागत आधिकारिक घोषणा भने असोज १० गते शनिबार हुने बताइएको छ।

पार्टीको विधान अनुसार सात जना उपाध्यक्ष पदका लागि १४ जना आकाङ्क्षीहरुले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, एक जना महासचिवका लागि तीन जना, एक जना उपमहासचिवका लागि दुई जना र सात जना सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ भने कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।