नयाँदिल्ली, भदौ १ गते । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । प्रहरीका अनुसार राजधानी कोलकाताबाट करिब २२० किलोमिटर उत्तरमा पर्ने बिरभूम जिल्लाको तारापीठस्थित चारतले होटलको भुइँतल्लामा बिहान सबेरै आगलागी सुरु भएको थियो ।

प्रहरी अधिकारीका अनुसार भुइँतल्लाको रिसेप्सनमा प्रयोग गरिएका फल्स सिलिङ, फाइबरग्लास तथा अन्य ज्वलनशील सामग्री जलेर निस्किएको विषाक्त धुवाँका कारण अधिकांशको मृत्यु भएको हो ।

आगलागी हुँदा होटलका अधिकांश पाहुना निद्रामा थिए । आगो लागेपछि ब्युँझिएका पाहुनाहरू अन्योलमा परेका र बाहिर निस्कने बाटो पहिल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सूचना प्राप्त भएलगत्तै प्रहरी तथा दमकलकर्मी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिनुका साथै होटलभित्र रहेका मानिसको उद्धार गरेका थिए ।

मृतकमध्ये केही तारापीठस्थित हिन्दु मन्दिरमा पूजाका लागि आएका तीर्थयात्री रहेको अधिकारीहरूले बताएका छन् ।

आगलागी माथिल्ला तलासम्म तीव्र रूपमा फैलिएपछि ठूलो क्षति भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक विवरणमा सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ ।