बिहार, भदौ १ गते । बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । जिल्ला प्रशासनका अनुसार रेलवे हाल्ट नजिक बिजुलीको पोल ढलेपछि त्यसबाट विद्युत् प्रवाह भइरहेको तार खसेको हल्ला फैलिएसँगै भीडमा त्रास उत्पन्न हुँदा भागदौड भएको हो । मृतकमध्ये सबै महिला रहेको लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारले बताउनुभयो ।
मजिस्ट्रेट कुमारका अनुसार भक्तजनको लाम अशोकधाम हाल्टसम्म पुगेको थियो र त्यहाँ दुईवटा रेल रोकिएका थिए । अचानक पुरुषतर्फको लामनजिक बिजुलीको पोल ढलेपछि त्यसमा रहेको केबल तार खसेको थियो । तारमा विद्युत् प्रवाह भइरहेको हल्ला फैलिएपछि महिलातर्फको लाममा चाप बढ्दा केही भक्तजन एकअर्कामाथि लडेका थिए ।
“घटना करिब दुई मिनेटको अवधिमा अचानक भएको हो”, कुमारले भन्नुभयो । उहाँका अनुसार प्रहरी तथा प्रशासन बिहान ३ बजेदेखि नै घटनास्थलमा खटिएका थिए ।
लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गर्दै पोल ढलेपछि करेन्ट लागेको प्रारम्भिक जानकारी आए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो ।
बिहारका मन्त्री विजय कुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत् प्रवाह भइरहेको तार खसेको हल्लाका कारण भागदौड भएको बताउनुभयो । उहाँले गलत हल्ला फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गरिने जानकारी दिनुभयो । “तार खसेपछि करेन्ट फैलिएको हल्ला फैलियो र त्यसले भागदौडको स्थिति निम्त्यायो”, उहाँले भन्नुभयो ।
केन्द्रीय मन्त्री राजीव रञ्जन ९लालन० सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभयो । उहाँका अनुसार साउनको तेस्रो सोमबारका अवसरमा अशोकधाममा ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका थिए ।
घाइतेहरूलाई तत्काल लखीसराय सदर अस्पताल तथा नजिकका स्वास्थ्य केन्द्रमा लगिएको छ । घटनास्थलमा प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन सेवाका टोली परिचालन गरिएको थियो ।
यसैबीच, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सरकार पीडित परिवारको साथमा रहेको बताउनुभएको छ ।
साउन महिनाको सोमबार शिव मन्दिरमा जल चढाउन ठूलो सङ्ख्यामा भक्तजन पुग्ने भएकाले अशोकधाममा पनि बिहानैदेखि भीड लागेको थियो ।




