चितवन, असार १२ गते। राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) को महाधिवेशन पार्टीको नीति तथा कार्यदिशाका साथै नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । चितवनको भरतपुरमा ७ गते आइतबारदेखि सुरुभएको रास्वपाको पहिलो महाधिवेशन छ दिन पछि आज सम्पन्न भएको हो ।

फितलो व्यवस्थापनकाबीच सम्पन्न भएको महाधिवेशनले पार्टीको ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य चयन गरेको छ । निर्वाचन प्रक्रियामार्फत् पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । पार्टीको संस्थापक सभापति रवि लामिछाने सभापतिमा र र पूर्व उपसभापति डा.स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो। अन्य पदहरुमा भने प्रतिनिधिहरुले गरेको मतदानबाट चुनिएका हुन् ।

पार्टीमा रिक्त केही पदाधिकारी, प्रवक्ता र केन्द्रीय सदस्यहरुको पदपूर्ति सभापति रवि लामिछानेले मनोनित गर्नुहुने छ । सभापति लामिछानेले एक जना वरिष्ठ नेता , एक जना उपसभापति, एक महामन्त्रीसहित, पार्टीको प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनीत गर्नुहुनेछ। पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनित हुने निश्चित् प्रायः छ भने अन्य पदका लागि आकाङ्क्षीहरुको ठूलै लर्को देखिन्छ ।


रास्वपामा विभिन्न राजनीतिक दलबाट आएका नेता कार्यकर्ताहरुलाई व्यवस्थापन गर्नुपर्ने हुँदा सभापति लामिछानेलाई ती नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्न थप दवाव हुनसक्ने देखिन्छ ।