भोजपुर, असार १२ गते । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।

स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताउनुभयो । उहाँले भन्नुभयो, “सचेतना अभियानअन्तर्गत डेङ्गीबारे जानकारी, बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिने छ ।”

अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ । डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय भोजपुरले जिल्लावासी सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले पनि समुदाय-प्रहरी साझेदारी अवधारण कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताउनुभयो । सचेतना कार्यक्रममा उहाँले लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई घर, आँगन तथा कार्यस्थल सफा राख्न र पानी जम्न नदिन आग्रह गर्नुभयो । सचेतना कार्यक्रममा स्वास्थ्य कार्यालय कर्मचारी, जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।

स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य हो । लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेङ्गीको सङ्क्रमण घटाउन सकिने कार्यालयले जनाएको छ ।