चितवन, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ। आज शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा अर्की उम्मेदवार डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएको हो।
चितवनको निर्वाचन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित गौतम प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत हुनुहुन्छ । रास्वपाको स्थापना कालदेखिमा पार्टीको राजनीतिमा सक्रिय गौतम पार्टीको संस्थापकसदस्य समेत हुनुहुन्छ ।
सभापति पछि पार्टीको शक्तिशाली पद भनिने महामन्त्री पदमा विपिन आचार्य निर्वाचित हुनुभएको छ । पार्टीका पूर्व प्रवक्ता एवम् महामन्त्रीका प्रत्यासी मनिष झाका साथै सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै आचार्य महामन्त्रीमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी पार्टीको सहमहामन्त्री पदको खुला प्रतिस्पर्धाबाट हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ । ढकाल चितवनको निर्वाचन क्षेत्र १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य बनिसक्नुभएको छ । गत निर्वाचनमा उहाँ सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अर्का सहमहामन्त्री अशिम शाह प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारका साथै संविधान संशोधन कार्यदलका संयोजक हुनुहुन्छ भने महिला कोटाबाट सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित हुनुभएको छ ।
यसअघि पार्टीको सभापतिमा संस्थापक सभापति रवि लामिछाने र पार्टीको उपसभापतिमा अर्थमन्त्रीसमेत रहनुभएका डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा भएको रास्वपाको महाधिवेशनले पहिलो चरणमा ९९ केन्द्रीय सदस्यलाई निर्वाचित गरेको थियो भने दोस्रो चरणको निर्वाचनमा उपसभापति, महामन्त्री, सहमहामन्त्री निर्वाचित गरेको हो ।
उपसभापतिमा पदमा सोविता गौतमले ७८९ मत पाउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाउनुभएको थियो । यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ६७३ मत पाउनुभएको छ ।
सोही पदमा उम्मेदवारी दिनुभएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाउनुभएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारीअनुसार दुई जना सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ । शाहले ४७१ मत र ढकालले ४०४ मतका साथ निर्वाचित हुनुभएको हो ।
सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गर्नुभएको छ ।
एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनुभएको छ । सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गर्नुभएको छ ।
यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो । वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह हुनुभएको छ । यसअघि भएको पहिलो चरणको निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकाहरूमध्येबाट उम्मेद्वार बनेर छ जना पदाधिकारी निर्वाचित हुनुभएको हो ।
निर्वाचित कार्यसमितिलाई अजै शपथ गराउने आयोगले जनाएको छ ।




