चितवन, असार १२ गते । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन समापनको सङ्घारमा पुग्दा नपुग्दै महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरुबीचको विवाद छरपस्ट भएको छ । महाधिवेशनको व्यवस्थापनदेखि निर्वाचनसम्मको विषयमा रास्वपाका नेता कार्यकर्ताहरुमा व्यापक असन्तुष्टिसहित विरोध सार्वजनिक भएको हो ।
नेता र महाधिवेशनका प्रतिनिधिहरुको महत्वाकाङक्षाका कारण पार्टी अन्तरकलहमा जकडिन पुगेको छ । केन्द्रीय समितिको सदस्यका लागि भएको निर्वाचन प्रक्रियादेखि पदाधिकारी पदसम्मको निर्वाचन प्रक्रियासम्म आइपुग्दा महाधिवेशन प्रतिनिधिहरुमा असन्तोष पैदा भएको छ ।
विशेषगरी पदाधिकारी पदको मतदानका लागि तोकिएको समय सकिएर मतदानस्थलको ढोका बन्द भएपछि महाधिवेशनका प्रतिनिधिहरुको एक समूहले आफूहरूलाई पनि मतदान गर्न बञ्चित गरिएकोले मतदान गर्न पाउनुपर्छ भन्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दबाब दिएका छन्।
यसबीच, केन्द्रीय निर्वाचन आयोगले टाढाबाट आएका प्रतिनिधिहरूलाई मध्यनजर गर्दै मतदान समय ३० मिनेट थप गरिएको जनाएको छ। आयोगका अनुसार थपिएको समयभित्र मतदानस्थलको हलभित्र रहेका प्रतिनिधिलाई मात्र मतदानको अवसर दिइएको बताइएको छ । आयोगले मतदान प्रक्रियामा सहभागी हुनका लागि भौचर भरिसकेका प्रतिनिधिलाई दुई मिनेटभित्र आवश्यक प्रक्रिया पूरा गर्न भन्दै आग्रह गरेको थियो ।
तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु भएको ठाउँमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि भएको मतदानमा लगभग १३ सयको हाराहारीमा मत खसेको सो आयोगले जनाएको छ ।




