काठमाडौँ, वैशाख २५ गते । एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्यो ।
नेपालको जितमा मयान यादव नायक बने । उनले ८० बलमा ७२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थियो । त्यसअघि नेपालका ओपनर त्रितराज दासले २३ रन बनाउँदा कप्तान अनिल साहले २७ रनको योगदान दिए । देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोराले मध्यम क्रम सम्हाल्दै ३६ रन जोडे । कुशल मल्लले ३३ रन बनाए ।
खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा अविजित २४ रन बनाउने क्रममा एक चौका र दुई छक्का प्रहार गरे । दीपक डुम्रे दुई रनमा अविजित रहँदा नेपालले ४९ दशमलव एक ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अमेरिकाका लागि मिलिन्द कुमारले सर्वाधिक दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह तथा सञ्जय कृष्णमुर्थीले समान एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योफल बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै १०७ बलमा १० चौका र पाँच छक्कासहित ११६ रन बनाए ।
त्यस्तै ओपनर शायन जहाँगिर नौ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेलले २० रन जोडे । सैतेजा मुक्कामल्लाले १० तथा मिलिन्द कुमारले सात रन बनाए । त्यसपछि शुभम रञ्जानेले १६, सञ्जय कृष्णमुर्थीले १५ तथा शेहान जयसूरियाले सात रनको योगदान दिए ।
अन्तिमतिर हरमित सिंह २५ र जसदीप सिंह ३३ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्याए । नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एकरएक विकेट लिए ।





